को हुन् गादी आइजनकोट, जसलाई नयाँ सरकार गठन गर्ने जिम्मेवारी सुम्पिएको छ ?

को हुन् गादी आइजनकोट, जसलाई नयाँ सरकार गठन गर्ने जिम्मेवारी सुम्पिएको छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इजरायली राष्ट्रपति इसाक हर्जोगले नयाँ गठबन्धन सरकार गठन गर्ने जिम्मेवारी विपक्षी गठबन्धनका नेता गादी आइजनकोटलाई दिएका छन्। पूर्वसैनिक प्रमुखसमेत रहेका आइजनकोटले विगत करिब तीन दशकको अधिकांश समय इजरायलको नेतृत्व गरेका बेन्जामिन नेतन्याहुलाई अप्रत्याशित चुनौती दिएका छन्।

राजनीतिमा तुलनात्मक रूपमा नयाँ आइजनकोटले सन् २०२२ मा औपचारिक रूपमा राजनीतिक यात्रा सुरु गरेका थिए। उनी नेसनल युनिटी पार्टीबाट इजरायली संसद्का सदस्य बनेका थिए। पछि पार्टीसँग वैचारिक मतभेद रहेको भन्दै उनले उक्त पार्टी छाडे।

गत वर्ष विपक्षका केही प्रमुख नेताबाट अलग हुँदै उनले मध्यमार्गी राजनीतिक दल ‘याशर’ गठन गरे। ‘याशर’को अर्थ ‘सीधा’ वा ‘इमानदार’ भन्ने हुन्छ। त्यसपछि उनी चुनावी राजनीतिमा नेतन्याहुका प्रमुख प्रतिद्वन्द्वीका रूपमा स्थापित भए।

नेतन्याहुका प्रमुख प्रतिद्वन्द्वी

निर्वाचनमा नेतन्याहुको दक्षिणपन्थी लिकुड पार्टी तथा उसका कट्टर दक्षिणपन्थी र अतिरूढिवादी यहुदी सहयोगीहरूले १२० सदस्यीय संसद्मा ५३ सिट जितेका थिए। आइजनकोटको मध्यमार्गी याशर पार्टीसहित उनका गठबन्धनका अन्य तीन यहुदी विपक्षी दलले ४८ सिट जितेका थिए।

न्यायपालिकामा व्यापक परिवर्तन गर्ने नेतन्याहुको विवादास्पद योजनाका कारण इजरायलमा ठूलो विरोध प्रदर्शन भएको थियो। उनीमाथि भ्रष्टाचारका आरोपसमेत लाग्दै आएका छन्, यद्यपि नेतन्याहुले ती आरोप अस्वीकार गर्दै आएका छन्। सन् २०२३ अक्टोबर ७ को हमास आक्रमणसँग जुध्ने सरकारको तरिकामाथि पनि उनको आलोचना हुँदै आएको छ।

तर नेतन्याहुलाई चुनौती दिने आइजनकोटको निर्णयका पछाडि राजनीतिक कारणसँगै व्यक्तिगत त्रासदी पनि जोडिएको छ।

छोराको मृत्यु र घरमा राखिएका दुई बाकस

आइजनकोटका पाँच सन्तानमध्ये कान्छा छोरा मास्टर सार्जेन्ट गाल आइजनकोटको सन् २०२३ डिसेम्बरमा उत्तरी गाजामा भएको विस्फोटमा मृत्यु भएको थियो। उनी अक्टोबर ७ को हमास आक्रमणका क्रममा बन्धक बनाइएका दुई इजरायलीको शव खोज्ने अभियानमा सहभागी थिए।

छोराका सामान दुईवटा बाकसमा राखेर परिवारलाई बुझाइएको भए पनि आइजनकोटले ती बाकस अहिलेसम्म नखोलेको बताएका छन्। ती बाकस तेल अभिभको उत्तरमा रहेको हर्जलिया सहरस्थित उनको घरमा राखिएका छन्।

गाजाको युद्धमा उनका छोरा मात्र होइन, दुई जना भतिजाको समेत मृत्यु भएको थियो। यस व्यक्तिगत क्षतिले नेतन्याहु सरकार हमासको अभूतपूर्व आक्रमण रोक्न असफल भएको उनको विश्वासलाई थप बल दिएको देखिन्छ।

नेतन्याहुलाई जवाफदेही बनाउने प्रतिबद्धता

अक्टोबर ७ को आक्रमणपछि राष्ट्रिय एकताको सन्देश दिन आइजनकोट विपक्षका केही अन्य नेतासँगै नेतन्याहुको युद्ध मन्त्रिपरिषद्मा सहभागी भएका थिए। तर सन् २०२४ जुनमा उनले युद्ध मन्त्रिपरिषद्बाट राजीनामा दिए।

उनले बन्धक बनाइएका मानिसहरूलाई मुक्त गर्न नेतन्याहुले पर्याप्त तीव्रताका साथ कदम नचालेको आरोप लगाएका थिए। नेतन्याहुले भने आइजनकोटको आरोप अस्वीकार गर्दै आएका छन्।

आइजनकोटले युद्ध मन्त्रिपरिषद्का बैठक तथा त्यहाँ भएका मतदानका अभिलेख सार्वजनिक गर्न मागसमेत गरेका छन्। उनले अक्टोबर ७ को हमास आक्रमणबारे विस्तृत छानबिन गराउने प्रतिबद्धता पनि जनाएका छन्।

गाजाबारे आइजनकोटको धारणा

आइजनकोट र नेतन्याहुबीच धेरै विषयमा मतभेद भए पनि गाजाको भविष्यसम्बन्धी उनीहरूको धारणा कतिपय विषयमा समान देखिन्छ। आइजनकोट पनि गाजाको भविष्यको कुनै योजनामा हमासलाई स्थान दिन नहुने पक्षमा छन्।

उनले दुई राष्ट्रको समाधानलाई पनि समर्थन गरेका छैनन्। इजरायलसँगै स्वतन्त्र प्यालेस्टिनी राष्ट्र स्थापना गर्ने अवधारणालाई उनले अस्वीकार गरेका छन्। यद्यपि उनले प्यालेस्टिनी प्राधिकरणसँग इजरायलको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्नुपर्ने बताएका छन्।

आइजनकोटले वेस्ट बैंकमा रहेका करिब २८ लाख प्यालेस्टिनीमाथि प्यालेस्टिनी प्राधिकरणलाई शासन गर्न दिनुपर्ने बताएका छन्। आफू उनीहरूमाथि शासन गर्न नचाहेको उनको भनाइ छ।

यहुदी बस्ती विस्तारबारे यस्तो छ धारणा

आइजनकोटले इजरायलका ठूला यहुदी बस्तीहरूको विस्तारलाई समर्थन गर्छन्। तर त्यस्तो विस्तार इजरायली कानुन र राष्ट्रिय हितअनुकूल हुनुपर्ने उनको शर्त छ।

यससँगै वेस्ट बैंकका केही क्षेत्रमा यहुदी बस्ती विस्तार गर्ने विवादास्पद योजनाको उनले विरोध गरेका छन्। विशेषगरी पूर्वी जेरुसेलमको ई–१ क्षेत्रमा बस्ती विस्तार गर्ने योजनाप्रति उनले आपत्ति जनाएका छन्।

अक्टोबर ७ को आक्रमणको छानबिन गर्ने प्रतिबद्धता

निर्वाचन प्रचारका क्रममा आइजनकोटले अक्टोबर ७ को हमास आक्रमणबारे छानबिन गराउने वाचा गरेका छन्। त्यस क्रममा इजरायली सरकारबाट कहाँ–कहाँ कमजोरी भयो भन्ने विषयमा अनुसन्धान गरिने उनले बताएका छन्।

उनका अनुसार निर्वाचन केवल सरकार परिवर्तन गर्ने विषय होइन, जिम्मेवारी स्वीकार गर्ने र जिम्मेवारीबाट भाग्नेबीचको छनोट पनि हो।

देश छाडिरहेका दक्ष जनशक्ति रोक्ने योजना

आइजनकोटले सार्वजनिक गरेको १० सूत्रीय कार्यक्रममा दक्ष इजरायलीहरू ठूलो संख्यामा देश छाडेर जाने समस्या समाधान गर्ने योजना समेटिएको छ। साथै नयाँ आप्रवासीलाई इजरायल आउन प्रोत्साहन गर्ने नीति अघि सार्ने बताएका छन्।

उनले अतिरूढिवादी यहुदी समुदाय तथा इजरायली अरब नागरिकलाई प्राप्त सैन्य सेवासम्बन्धी छुट हटाउने प्रस्ताव पनि गरेका छन्। उनका अनुसार सबै इजरायली नागरिकका लागि समान सेवा कानुन आवश्यक छ, जसअन्तर्गत सैन्य, राष्ट्रिय वा नागरिक सेवा गर्नुपर्नेछ।

साधारण परिवारबाट सेनाको सर्वोच्च नेतृत्वसम्म

गादी आइजनकोटको जन्म तिबेरियसमा भएको थियो र उनको बाल्यकाल इलातमा बितेको थियो। उनका आमाबुबा मोरक्कोबाट सन् १९५० को दशकमा इजरायल आएका आप्रवासी थिए। उनी साधारण आर्थिक अवस्थाको परिवारमा हुर्किएका थिए।

मध्यपूर्व तथा उत्तर अफ्रिकी मुलुकबाट इजरायल आएका यहुदी समुदायलाई ‘मिजराही’ भनिन्छ। आइजनकोट पनि यही समुदायबाट आएका हुन्। उनी आफ्ना मोरक्कन जरा र पहिचानप्रति गर्व गर्ने बताउँछन्।

ऐतिहासिक रूपमा लिकुड पार्टीको समर्थन गर्दै आएको मिजराही समुदायका केही मानिसले आइजनकोटका लागि मोरक्कोको अरबी भाषाको शब्द ‘दियालिना’ प्रयोग गर्ने गरेका छन्। यसको अर्थ हुन्छ-‘हामीमध्ये एक’।

सेनामा चार दशक लामो यात्रा

आइजनकोट १८ वर्षको उमेरमा इजरायली सेनामा प्रवेश गरेका थिए। उनले करिब ४० वर्ष सेनामा सेवा गरे र विभिन्न जिम्मेवारी सम्हाल्दै सेना प्रमुख बने। उनी सन् २०१५ देखि २०१९ सम्म इजरायली सेनाका प्रमुख थिए।

सन् २००० को दशकमा दोस्रो इन्तिफादाका क्रममा उनी वेस्ट बैंकमा इजरायली सेनाको नेतृत्वमा थिए। त्यस क्रममा करिब एक हजार इजरायली र तीन हजारभन्दा बढी प्यालेस्टिनी मारिएका थिए।

उनको नाम ‘दाहिया सिद्धान्त’सँग पनि जोडिन्छ। यो सिद्धान्तले इजरायलमाथि आक्रमण भएको ठानिएका क्षेत्रका नागरिक संरचनाविरुद्ध अत्यधिक सैन्य शक्ति प्रयोग गर्ने अवधारणालाई समर्थन गर्छ।

आलोचकहरू के भन्छ ?

आइजनकोटलाई नेतन्याहुको विपरीत व्यक्तित्वका रूपमा प्रस्तुत गरिए पनि आलोचकहरूले गाजा र वेस्ट बैंकसम्बन्धी इजरायलको नीतिमा उनीबाट ठूलो परिवर्तन नआउने तर्क गरेका छन्।

पत्रकार तथा प्रसारक मेहदी हसनले आइजनकोट नेतन्याहु नभए पनि वेस्ट बैंक र गाजामा विस्तार तथा सैन्य कारबाहीका नीतिहरू निरन्तर रहने सम्भावना रहेको टिप्पणी गरेका छन्।

यद्यपि विश्लेषकहरूले आइजनकोटलाई गम्भीर र संयमित नेताका रूपमा चित्रण गरेका छन्। उनी चुनावी प्रचारका क्रममा अतिरञ्जित वा अवास्तविक ठूला वाचा नगर्ने नेताका रूपमा देखिएको टिप्पणी पनि गरिएको छ।

अन्तर्राष्ट्रिय सम्बन्धमा परिवर्तन होला ?

आइजनकोट प्रधानमन्त्री बनेमा इजरायल र अन्तर्राष्ट्रिय समुदायबीच पछिल्लो समय बिग्रिएको सम्बन्धमा सुधार आउने सम्भावनाबारे पनि चर्चा भइरहेको छ।

तर विश्लेषकहरूका अनुसार नेतन्याहुको स्थानमा नयाँ नेता आउँदैमा इजरायलको विदेश तथा सुरक्षा नीतिमा रातारात ठूलो परिवर्तन आउने अपेक्षा गर्नु उचित हुँदैन।

यसरी हेर्दा गादी आइजनकोट इजरायली राजनीतिमा नयाँ अनुहार भए पनि उनको पृष्ठभूमि निकै लामो सैनिक अनुभव, व्यक्तिगत क्षति र नेतन्याहु सरकारप्रतिको तीव्र आलोचनासँग जोडिएको छ। पूर्वसेना प्रमुखबाट प्रमुख विपक्षी नेता बनेका आइजनकोटको आगामी राजनीतिक यात्रा इजरायलको घरेलु राजनीति मात्र नभई गाजा, प्यालेस्टाइन र अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले पनि महत्वपूर्ण बन्ने देखिन्छ।