कर्णालीविरुद्ध पोखराको रेकर्डै रेकर्ड : सामराको शतक, भुर्तेलको अर्धशतक

कर्णालीविरुद्ध पोखराको रेकर्डै रेकर्ड : सामराको शतक, भुर्तेलको अर्धशतक

जारी सिजनकै उच्च स्कोर, एनपीएल इतिहासमा यो दोस्रो ठूलो योगफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध कीर्तिमानी ब्याटिङ गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१७ रन बनायो। यो जारी सिजनकै उच्च योगफल र एनपीएल इतिहासकै दोस्रो ठूलो स्कोर हो।

पोखराका ओपनर युवराज सामराले शतक बनाए भने कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले। सामराले ४८ बलमा १० चौका र ६ छक्कासहित १०२ रन बनाए। उनी जारी सिजनमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्। पोखराका लागि आफ्नो दोस्रो खेल खेलिरहेका सामरा एनपीएल इतिहासमा शतक बनाउने चौथो खेलाडी पनि हुन्।

सामराले ४५ बलमा शतक पूरा गरेका थिए। त्यसपछि उनले तीन रन थपेर ४८ बलमा १०२ रन बनाउँदै आउट भए। प्लेअफको सम्भावना कमजोर भइसकेको पोखराका उनको आक्रामक ब्याटिङले पोखरालाई ठूलो योगफलसम्म पुर्‍यायो।

भुर्तेलले ३९ बलमा सात छक्कासहित ६२ रन बनाए। जारी सिजनमा उनको यो पहिलो अर्धशतक हो। खेलको १०औँ ओभरमा नन्दन यादवले आफ्नै बलिङमा भुर्तेलको क्याच छुटाएका थिए। त्यसपछि भुर्तेलले इनिङ्सलाई थप गति दिए।

कप्तान चमिका करुणारत्नेले अन्त्यतिर विस्फोटक ब्याटिङ गर्दै ११ बलमा तीन चौका र तीन छक्कासहित अविजित ३५ रन जोडे। सुनिल बीके तीन रनमा नटआउट रहे।

कर्णालीका सोमपाल कामीले दुई विकेट लिए। उनले चार ओभरमा २४ रन खर्चिए। मार्क वाटले एक विकेट हात पारे।

जारी सिजनकै उच्च, इतिहासमा दोस्रो ठूलो स्कोर

पोखराको २१७ रन जारी प्रतियोगिताको अहिलेसम्मकै उच्च स्कोर हो। एनपीएल इतिहासमा भने यो दोस्रो ठूलो योगफल हो। गत सिजन विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध २२० रन बनाएको थियो, जुन प्रतियोगिताको अहिलेसम्मकै उच्च टिम स्कोर हो।

पोखराले कर्णालीलाई २१८ रनको लक्ष्य दिएको छ। यस खेलअघि चार खेल खेलेर सबैमा पराजित भएको पोखरा पहिलो जितको खोजीमा छ। चार खेलबाट दुई जित र दुई हारसहित चार अंक जोडेको कर्णाली तालिकाको छैटौँ स्थानमा छ।

एनपीएलमा शतकको इतिहास

एनपीएलको पहिलो सिजनमा पोखरा एभेन्जर्सकै एन्ड्रिज गाउसले लुम्बिनी लायन्सविरुद्ध अविजित १०४ रन बनाउँदै प्रतियोगिताको पहिलो शतक प्रहार गरेका थिए।

दोस्रो सिजनमा कर्णाली याक्सका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध ४४ बलमा अविजित ११४ रन बनाएका थिए। यो एनपीएलमा अहिलेसम्मकै उच्च व्यक्तिगत स्कोर हो।

सोही सिजन पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले कर्णाली याक्सविरुद्ध अविजित १०८ रन बनाएका थिए।

सामराको शतकसँगै एनपीएलमा शतक बनाउने खेलाडीको सूचीमा गाउस, वाट र रोसिङ्टनपछि उनको नाम थपिएको छ।