गण्डकी – भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल पोखराले भारतीय सेनाका गोर्खा रेजिमेन्टहरूको इतिहास झल्काउने ग्यालरी स्थापना गरेको छ ।
पोखरा महानगरपालिका–१६ दीपस्थित गोर्खा मेमोरियल म्युजियममा स्थापित ग्यालरीको हालै भारतीय राजदूतावासका डिफेन्स एटाचे कर्णेल भी शुब्रमण्यमले शुभारम्भ गरेका थिए ।
ग्यालरीमा भारतीय सेनाका विभिन्न गोर्खा रेजिमेन्टहरूको ऐतिहासिक पृष्ठभूमि, योगदान, वीरता र बलिदानसँग सम्बन्धित अभिलेख, तस्वीर, पोशाकलगायत सामग्री राखिएको भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपालका अध्यक्ष कर्णेल कृष्णबहादुर खत्रीले बताए ।
‘भारतीय गोर्खा सैनिकका ३४ वटा बटालियनको इतिहास, वीरता र योगदानलाई झल्काउने गरी ग्यालरी स्थापना गरिएको छ,’ उनले भने, ‘ग्यालरीले गोर्खा सैनिकको इतिहास बुझ्न नयाँ पुस्तालाई सघाउने छ, पर्यटकीय हिसाबले पनि यसको महत्त्व बढ्ने हाम्रो विश्वास छ ।’
इतिहासको संरक्षण गर्नु आफूहरूको दायित्व सम्झदैँ पोखरामा रहेका सम्पूर्ण भारतीय भूतपूर्व सैनकको पहल र सक्रियतामा ग्यालरी स्थापना गरिएको अध्यक्ष खत्रीको भनाइ छ । प्रथम विश्वयुद्धदेखि हालसम्म विभिन्न सैनिक अभियानमा गोर्खा सैनिकहरूले प्रदर्शन गरेको वीरता र बलिदानको इतिहासलाई ग्यालरीमा संरक्षित गरिएको उनले बताए ।
गोर्खाली सैनिकहरूले विश्वका विभिन्न युद्ध तथा सैनिक अभियानमा पुर्याएको योगदान नेपालको मात्र नभई अन्तरराष्ट्रिय पहिचान र गौरवसँगसमेत जोडिएको अध्यक्ष खत्रीको भनाइ छ । भारतीय भूतपूर्व सैनिकहरूको त्याग र पुर्खाहरूको वीरतालाई स्मरण गर्दै गोर्खाली पहिचानलाई संरक्षण, सम्मान र विश्वसामु चिनाउने प्रयासका रूपमा यस ग्यालरीलाई लिइएको छ ।


प्रतिक्रिया