मस्को- युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकाका विशेष दूत स्टिभ विटकफ र जारेड कुशनर बिहीबार मस्को पुगेका छन्।
अबुधाबीमा रूस, युक्रेन र अमेरिकाका प्रतिनिधिबीच दुई दिन चलेको त्रिपक्षीय वार्ताको निष्कर्षबारे उनीहरूले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराउने अपेक्षा छ।
मस्कोको भ्नुकोभो विमानस्थलमा रूसी राष्ट्रपतीय दूत किरिल दिमित्रिएभले विटकफ र कुशनरलाई स्वागत गरेका थिए। क्रेमलिनका सहयोगी युरी उशाकोभका अनुसार उनीहरूले बिहीबार दिउँसोअघि पुटिनसँग भेट्ने कार्यक्रम थियो। भेटको नतिजा भने सार्वजनिक भइसकेको थिएन।
अबुधाबीमा भएको वार्ता फेब्रुअरीपछि रूस, युक्रेन र अमेरिकाका प्रतिनिधिबीचको पहिलो प्रत्यक्ष त्रिपक्षीय छलफल थियो। दुई दिनको वार्ताबाट युद्ध अन्त्य गर्ने विषयमा ठोस सहमति नजुटे पनि रूस र युक्रेनबीच ठूलो संख्यामा युद्धबन्दी साटासाट गर्ने सहमति बनेको दुवै पक्षले बताएका छन्। बन्दीहरूको संख्या भने टुङ्गो लाग्न बाँकी रहेको एपीले जनाएको छ।
कुशनरले अबुधाबीको छलफललाई अर्थपूर्ण बताउँदै केही विषयमा प्रगतिको सम्भावना रहेको बताएका थिए। तर, भूभागसम्बन्धी विवाद समाधान नगरी अन्तिम सम्झौतामा पुग्न नसकिने उनको भनाइ थियो। मस्कोले पनि दीर्घकालीन सम्झौताका लागि युद्धका मूल कारण सम्बोधन हुनुपर्ने अडान राख्दै आएको छ।
पुटिनसँगको भेटमा युरोपेली देशलाई भविष्यका वार्तामा सहभागी गराउने सम्भावनाबारे पनि छलफल हुने बताइएको छ। युरोपेली प्रतिनिधिहरू त्रिपक्षीय वार्तामा सहभागी थिएनन्, तर उनीहरूले अबुधाबीमा अमेरिकी र युक्रेनी अधिकारीसँग छुट्टै भेट गरेका थिए। रूसले युरोपेली सरकारहरूको भूमिका र युक्रेनलाई निरन्तर दिइँदै आएको सैन्य सहयोगको आलोचना गर्दै आएको छ।
मस्को भ्रमणपछि विटकफ र कुशनर डब्लिन जाने र त्यहाँ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट्ने कार्यक्रम रहेको एपीले उल्लेख गरेको छ।


प्रतिक्रिया