आजदेखि छठ पर्व सुरु, आज ‘नहाय–खाय’

आजदेखि छठ पर्व सुरु, आज ‘नहाय–खाय’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तिहार सकिएसँगै शुक्रबारदेखि छठ पर्व शुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन छठ पर्व मनाइन्छ । पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट शुरु हुने छठमा दोस्रो दिन ‘खरना’ गरिन्छ ।

तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सकिन्छ । छठ पर्वका अवसरमा मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ । आस्था, निष्ठा र भक्तिको पर्व मानिने छठको तयारीस्वरूप मिथिला क्षेत्रका घरघरमा छठका गीत गुञ्जिन थालेका छन् ।

सूर्यदेव र षष्ठीदेवी (छठीमाता) को महिमा गाइने भक्तिगीतले मिथिलाको वातावरण छठमय बनेको छ । छठ पर्वको तयारीका लागि स्थानीयबासिन्दा नदीकिनार, पोखरी तथा धार्मिक महत्वका जलाशयमा छठघाट निर्माण र सरसफाइमा जुटेका छन् ।

विशेषगरी युवा छठघाट निर्माण तथा सजावटमा सक्रिय देखिएका छन् । बाँसका भाटा र झिक्रा प्रयोग गरी बनाइएका घरका भित्ता लिपपोत तथा रङरोगन गरेर सजाउने काम पनि भइरहेको छ । सडक, घर र सार्वजनिक ठाउँमा झिलिमिली बत्ती जडान गरिएका छन् । मिथिला क्षेत्रका बजारमा छठ पूजाका सामग्री किन्नेको भीड लागेको छ ।

केराका घारीसहित पर्वमा आवश्यक सामग्रीको बिक्री बढेको छ । छठमा नयाँ भाँडामा पूजासामग्री राख्ने परम्पराका कारण बाँसका सामग्री र माटाका भाँडाको माग बढेको छ । घरघरमा छठको प्रसाद तयार गर्ने काम पनि भैरहेको छ ।

ठेकुवा र भुसुवासहितका प्रसाद बनाउन गृहिणी व्यस्त छन् । चामल र गहुँको पिठो घरमै ढिकी र जाँतोमा कुट्ने तथा पिँध्ने परम्परा अझै कायम छ । शुद्धता र पवित्रतालाई विशेष महत्व दिइने यस पर्वमा परिवारका सदस्यको सहयोगमा प्रसाद तयार गरिन्छ ।

मिथिलानी अर्थात् मिथिलाका महिलाहरू छठका लागि चामल र गहुँको पिठो तयार गर्न व्यस्त छन् । छठ पर्वमा पुराना मनमुटाव बिर्सेर सबै एकै ठाउँमा भेला भई सूर्यदेवको आराधना गर्छन् । सूर्यदेव र षष्ठीदेवीको उपासना गरिने यस पर्वले मङ्गल र कल्याण गर्ने जनविश्वास रहिआएको छ ।

पहिले पहिले तराई मधेशमा मात्रै सीमित छठ पर्व अहिले काठमाण्डु उपत्यकासहित पहाडी र हिमाली क्षेत्रसम्म मनाउने गरिन्छ ।