वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट अलग गरेका छन्। ट्रम्पले भान्सलाई अब अमेरिकाका डेमोक्रेटिक पार्टी शासित राज्य र सहरहरूमा भ्रष्टाचार तथा अपराधको अनुसन्धानमा ध्यान दिन निर्देशन दिएका छन्।
ट्रम्पले बिहीबार सामाजिक सञ्जालमार्फत भान्सले अब घरेलु मामिलामा ध्यान केन्द्रित गर्ने बताएका हुन्। उनले अमेरिकालाई इरानसँग अब कुनै सम्झौता आवश्यक नरहेकोसमेत बताएका छन्।
ट्रम्पले यसै वर्षको सुरुवातमा इरानसँगको वार्ताको जिम्मेवारी भान्सलाई दिएका थिए। भान्स इरानसँगको युद्धको पक्षमा थिएनन्। अप्रिलमा उनी पाकिस्तान पुगेर इरानी नेताहरूसँग घण्टौँ वार्ता गरेका थिए। तर, उक्त वार्ताबाट कुनै सहमति हुन सकेन।
पछिल्लो समय पनि भान्सले इरानसँग वार्ता पुनः सुरु गर्ने प्रयास गरेका थिए। उनले कतारमार्फत इरानका वरिष्ठ नेता मोहसिन रेजाईलाई पत्र पठाएका थिए। उक्त पत्रमा दुवै देशका अधिकारीबीच छिट्टै बैठक आयोजना गर्ने प्रस्ताव गरिएको थियो। अमेरिकी वार्ता टोलीको नेतृत्व आफूले गर्ने भान्सले बताएका थिए। तर, ट्रम्पले अहिले उनको प्रयास रोकिदिएका छन्।
अमेरिकाको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो क्षति बेहोरेको छ। निर्वाचनपछि भान्सले पार्टीको हारको कारण इरानसँगको युद्ध भएको बताएका थिए। उनले सामाजिक सञ्जालमा ‘हाम्रो हारको कारण युद्ध हो’ भन्दै टिप्पणी गरेका थिए।
युद्धका कारण आगामी ६ वर्षसम्म सिनेटको नियन्त्रण गुमाउनु उचित निर्णय थियो भन्ने कसैलाई लाग्छ भने आफ्नो धारणा राख्न सक्ने उनको भनाइ थियो। भान्सको उक्त अभिव्यक्तिलाई ट्रम्प प्रशासनको युद्धनीतिको आलोचनाका रूपमा हेरिएको थियो। यद्यपि, ट्रम्पले भने भान्सको टिप्पणीप्रति आफू असन्तुष्ट नरहेको बताएका थिए।
उनले धेरैलाई भान्सको टिप्पणी मन नपरे पनि आफूलाई त्यसबाट कुनै समस्या नभएको बताएका थिए। ट्रम्पले भान्सलाई डेमोक्रेटिक पार्टीको शासन रहेका सहर तथा राज्यमा भ्रष्टाचार र अपराधको अनुसन्धानमा ध्यान दिन निर्देशन दिएका छन्।
अमेरिकाको मिनेसोटा राज्यमा ठूलो आर्थिक अनियमितता तथा ठगीको घटना सार्वजनिक भएको छ। उक्त प्रकरणमा धेरै व्यक्ति पक्राउ परिसकेका छन्। यसैबीच, भान्सको क्यारेबियन तथा दक्षिण अमेरिकी देशहरूको भ्रमण पनि रद्द गरिएको छ। उनको भ्रमण सूचीमा डोमिनिकन रिपब्लिक, कोलम्बिया, अर्जेन्टिना र चिली थिए।
अधिकारीहरूका अनुसार उक्त भ्रमणको तयारी अक्टोबरदेखि भइरहेको थियो। सुरुमा डोमिनिकन रिपब्लिकको भ्रमण रद्द गरिएको थियो भने पछि बाँकी देशको यात्रा पनि स्थगित गरियो। यी सबै देश ट्रम्प प्रशासनका निकट मानिन्छन्।
होर्मुजको तनाव कायमै
अमेरिका र इरानबीच ठूला सैन्य आक्रमण तत्कालका लागि रोकिएका भए पनि दुई देशबीचको तनाव भने कायमै छ। विशेषगरी होर्मुज जलमार्गको नियन्त्रणलाई लिएर विवाद जारी छ।
विश्वकै महत्त्वपूर्ण तेल आपूर्ति मार्गमध्ये एक मानिने होर्मुज जलमार्गमा अमेरिकाले इरानको तेल निर्यात रोक्न समुद्री नाकाबन्दी गरेको छ। अमेरिकी नौसेनाका जहाजहरूले अन्य देशका तेल ट्यांकरको आवागमन सुरक्षित राख्न गस्ती गरिरहेका छन्।
अमेरिकी रक्षामन्त्री पीट हेगसेथ र सेनाका उच्च अधिकारीहरूले इरानविरुद्ध सैन्य कारबाही तीव्र पार्ने विकल्पसमेत ट्रम्पसमक्ष प्रस्तुत गरेका छन्। यसले आवश्यक परे युद्ध पुनः चर्काउने विकल्प ट्रम्पसँग खुला रहेको संकेत गर्छ।
यद्यपि, हालैको एक अन्तर्वार्तामा ट्रम्पले इरानको परमाणु क्षमताबारे आफूलाई पहिले जस्तो चिन्ता नरहेको बताएका थिए। इरानमाथि युद्ध सुरु गर्नुको प्रमुख कारण पनि उसको परमाणु कार्यक्रमलाई नै बनाइएको थियो।
इरानको सर्त
करिब दुई साताअघि इरानले अमेरिकाले आफ्ना सर्तहरू स्वीकार गरे दुई दिनभित्र होर्मुज जलमार्ग खोल्न सक्ने बताएको थियो।
इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी मध्यावधि निर्वाचनपछि सामाजिक सञ्जालमा लेखेका थिए, ‘अमेरिकी मतदाताले आफ्नो निर्णय सुनाइसकेका छन्। अब ह्वाइट हाउसको पालो हो।’
अमेरिका र इजरायलले परमाणु हतियार निर्माण गरेको आरोप लगाउँदै फेब्रुअरी २८ मा इरानमाथि संयुक्त सैन्य आक्रमण सुरु गरेका थिए। त्यसको जवाफमा इरानले पनि प्रत्याक्रमण गरेपछि दुई पक्षबीच युद्ध चर्किएको थियो।
अप्रिलको सुरुवातमा दुवै पक्षबीच युद्धविराम भएको थियो। तर, त्यो लामो समय टिक्न सकेन। जुनमा पुनः युद्धविराम र युद्ध अन्त्य गर्ने सहमति भएको थियो। अगस्टमा उक्त सहमतिसमेत भंग भएपछि दुई देशबीच तनाव फेरि बढेको थियो।


प्रतिक्रिया