काठमाण्डु –मल्लकालीन कला, संस्कृति र नाट्य परम्पराको जीवन्त धरोहरका रूपमा रहेको ऐतिहासिक कात्तिक नाच शुक्रबारदेखि पाटनमा सुरु हुँदै छ ।
३ सय ८६ वर्ष पुरानो इतिहास बोकेको उक्त नाच यस वर्ष १२ दिनसम्म प्रदर्शन गरिने भएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए ।
अध्यक्ष चित्रकारका अनुसार कात्तिक २७ देखि मंसिर ८ सम्म प्रत्येक दिन साँझ ७ बजे पाटन दरबार क्षेत्रस्थित कात्तिक डबलीमा नाच प्रदर्शन हुनेछ ।
नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याण तथा धार्मिक-सांस्कृतिक उद्देश्यले कात्तिक नाच सुरु गराएको इतिहास छ । नेपाल भाषामा ‘कात्ति प्याखं’ भनिने यस नाचमा भगवान् विष्णुका विभिन्न अवतार, कृष्णलीला, धार्मिक आख्यान तथा लोकनाटक प्रस्तुत गरिने परम्परा छ ।
यस वर्ष भक्त सुरदास प्याखं, माधवानर लीला, बायः प्याखं, बाथः प्याखं, जलशयण, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण लीला र दधि लीलालगायतका प्रस्तुति रहने समितिका उपाध्यक्ष प्रकाशराज शर्माले जानकारी दिए ।
यसअघि कात्तिक नाच २०३८ देखि २०६० सम्म आठ दिन, २०७० मा १० दिन र २०७१ देखि २०७६ सम्म १२ दिन प्रदर्शन गरिएको थियो । कोरोना महामारीका कारण २०७७ मा भने दुई दिनमा सीमित गरियो ।
यस ऐतिहासिक नाचको संरक्षण र निरन्तरताका लागि आर्थिक स्रोत, कलाकारको व्यावसायिक विकास तथा नयाँ पुस्तामा सीप र परम्पराको हस्तान्तरण चुनौतीका रूपमा रहेको समितिले जनाएको छ ।
ललितपुर महानगरपालिकाले विगतमा एक करोड रुपैयाँको अक्षयकोष स्थापना गरेकामा पछि त्यसमा १० करोड रुपैयाँ थप गरिएको थियो । यस वर्ष नाच सञ्चालनका लागि महानगरपालिका–१६ ले १५ लाख रुपैयाँ सहयोग गर्ने छ । दीर्घकालीन संरक्षणका लागि समितिले १० करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्यसमेत अघि सारेको छ ।
नाचलाई ऐतिहासिक स्वरूपअनुसार पुनः २७ दिनसम्म सञ्चालन गर्न सक्ने वातावरण निर्माण गर्ने समितिको योजना रहेको कात्तिक नाच प्रचारप्रसार समितिका संयोजक सञ्जय शर्मा राजोपाध्यायले जानकारी दिए ।
कात्तिक नाच संरक्षण समितिले ऐतिहासिक सम्पदाको अवलोकन तथा संरक्षणमा साथ दिन सर्वसाधारण, संस्कृतिप्रेमी र स्वदेशी तथा विदेशी पर्यटकलाई आग्रह गरेको छ ।


प्रतिक्रिया