काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । काठमान्डुका कप्तान करण केसीले टस जितेपछि सुदूरपश्चिम रोयल्सलाई ब्याटिङका लागि निम्तो दिएका हुन् ।
खेलमा सुदूरपश्चिमबाट वेस्ट इन्डिजका अलराउन्डर फाबियन एलेनले डेब्यु गर्दैछन् । सुदूरपश्चिमले अविनाश बोहरा र सैफ जैबको स्थानमा दीपक बोहरा र ऐलेनलाई खेलाउँदैछ ।
डेबिड वार्नर गएपछि काठमान्डु गोर्खाजले पहिलो पटक खेलिरहेको छ । वार्नरले एनपीएलमा चार खेल खेल्दा गोर्खाजले सबै चार खेल जितेको थियो ।
यस्तै काठमान्डु गोर्खाजबाट दुशान हेमान्थालाई पहिलो पटक खेलाइरहेका छन् । उनलाई वार्नरको स्थानमा ल्याइएको छ । त्यस्तै विलियम बोसिस्टोको स्थानमा साम हिज्लेट खेलिरहेका छन् ।
काठमान्डुले आजको खेल जित्यो भने शीर्ष दुई स्थानमा रहदैं क्वालिफायरमा पुग्ने छ । सुदूरपश्चिमले पनि यस खेल जितेमा क्वालिफायरमा पुग्ने सम्भावना रहन्छ ।


प्रतिक्रिया