सिँगारिँदै छठघाट (तस्बिरहरू)

सिँगारिँदै छठघाट (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सूर्योपासनाको पर्व छठका लागि देशका विभिन्न स्थानका नदी, नाला, तलाउ तथा पोखरी किनारमा छठघाट बनाउने र सजाउने काम भइरहेको छ ।

छठ पर्वलाई भव्य र व्यवस्थित रूपमा मनाउन स्थानीयवासीहरू सरसफाइ र घाट व्यवस्थापनमा जुटेका छन्। कतै नदी तथा पोखरीका किनार सफा गरिँदै छ भने कतै टेन्ट, पण्डाल र सजावटका सामग्री राखेर छठघाटलाई आकर्षक बनाउने काम भइरहेको छ ।

शुक्रबारदेखि छठ पर्व शुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन छठ पर्व मनाइन्छ । पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट शुरु हुने छठमा दोस्रो दिन ‘खरना’ गरिन्छ ।

तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सकिन्छ । छठ पर्वका अवसरमा मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ । आस्था, निष्ठा र भक्तिको पर्व मानिने छठको तयारीस्वरूप मिथिला क्षेत्रका घरघरमा छठका गीत गुञ्जिन थालेका छन् ।

सूर्यदेव र षष्ठीदेवी (छठीमाता) को महिमा गाइने भक्तिगीतले मिथिलाको वातावरण छठमय बनेको छ । छठ पर्वको तयारीका लागि स्थानीयबासिन्दा नदीकिनार, पोखरी तथा धार्मिक महत्वका जलाशयमा छठघाट निर्माण र सरसफाइमा जुटेका छन् ।