काठमाण्डु- प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको पराजयपछि संगठनात्मक कमजोरी, आन्तरिक असन्तुष्टि र कार्यकर्तामा देखिएको निराशा चिर्न नेकपा (एमाले) ले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ।
पार्टीलाई अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा पुनः सक्रिय बनाउँदै आगामी राजनीतिक चुनौती र स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित गर्ने उद्देश्यसहित एमालेले मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला गर्न लागेको हो।
निर्वाचनको परिणामपछि पार्टीभित्र देखिएको अन्योल र निष्क्रियता हटाउने, संगठनलाई तल्लो तहसम्म चलायमान बनाउने तथा नेता–कार्यकर्ताबीच साझा राजनीतिक बुझाइ निर्माण गर्ने एमालेको योजना छ। पार्टीले यस भेलालाई संगठन पुनर्गठन, राजनीतिक कार्यदिशाको पुनर्निर्धारण र आगामी निर्वाचनको तयारीका दृष्टिले महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ।
एमाले संगठन विभागको अगुवाइमा हुने भेलामा केन्द्रीय कमिटीदेखि वडा तथा पालिका तहसम्मका नेता, कार्यकर्ता र जनप्रतिनिधिको सहभागिता रहनेछ। आयोजकका अनुसार भेलामा तीन हजारभन्दा बढी नेता–कार्यकर्ता सहभागी हुनेछन्।
भेलाको तयारी अन्तिम चरणमा पुगेको संगठन विभाग प्रमुख तथा तयारी समितिका संयोजक भानुभक्त ढकालले जानकारी दिएका छन्। उनका अनुसार विभिन्न प्रदेशबाट प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्ने, कार्यक्रमस्थल व्यवस्थापन गर्ने र आवश्यक जिम्मेवारी बाँडफाँट गर्ने काम भइरहेको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको तयारी बैठकमा विभिन्न प्रदेशका फोकल पर्सनहरूले सहभागिताको अवस्थाबारे जानकारी गराएका थिए। उनीहरूले भेलामा उत्साहजनक सहभागिता रहने रिपोर्टिङ गरेका थिए।
बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्तामाझ एकीकृत सन्देश प्रवाह गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताएका थिए।
पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, जनजीविकाका सवाल र आगामी राजनीतिक चुनौतीबारे साझा बुझाइ निर्माण गर्दै पार्टीपंक्तिलाई स्थानीय निर्वाचनको तयारीमा परिचालित गरिने उनको भनाइ थियो।
तयारी समितिका संयोजक ढकालका अनुसार भेलामा केन्द्रीय सदस्य, केन्द्रीय निकायका प्रतिनिधि, प्रदेश तथा जिल्ला तहका नेता, पालिका कमिटीका प्रतिनिधि, संघीय तथा प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि र जनसंगठनका प्रतिनिधिहरू सहभागी हुनेछन्।
उनले प्रस्तुत गरेको विवरणअनुसार भेलामा ३४६ जना केन्द्रीय सदस्य, ८१ जना केन्द्रीय निकायका प्रतिनिधि, ५५ जना प्रदेश, भारत प्रवास तथा प्रवासी नेपाली मञ्चका प्रतिनिधि र ४४० जना जिल्ला तहका प्रतिनिधि सहभागी हुनेछन्।
त्यस्तै, पालिका कमिटीबाट १ हजार ५०६ जना, संघीय संसद् तथा राष्ट्रिय सभाबाट ३५ जना, प्रदेशसभाबाट १५५ जना, स्थानीय तहका प्रमुख तथा अध्यक्षबाट १९६ जना, उपप्रमुख तथा उपाध्यक्षबाट ३४२ जना र जनसंगठनबाट ९६ जना प्रतिनिधिको सहभागिता रहने जनाइएको छ।
ओलीदेखि भण्डारीसम्मले सम्बोधन गर्ने
एमालेमा २०८२ भदौ र फागुनको दुई धक्कापछि अध्यक्षबाट ओलीलाई हटाउने भरमग्दुर प्रयास भयो । महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलसहितको शक्ति लाग्दा पनि ओली टसमस भएनन्। बरू उनले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा ल्याएर शक्ति आफ्नोतिर बढाउने नयाँ चाल चाले। यही कारण ओलीलाई हटाउन असफल भएपछि अब उनकै नेतृत्वमा एमालेको शक्ति फर्काउने प्रयासमा लागेका हुन्।
काठमाण्डुस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुने भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ। ओलीले समसामयिक राजनीतिक परिस्थिति, पार्टीको दृष्टिकोण र आगामी राजनीतिक कार्यदिशाबारे सम्बोधन गर्नेछन्।

भेलालाई वरिष्ठ नेता एवम् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, उपाध्यक्ष रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वका सरकारले गरेका काम र उपलब्धिबारे धारणा राख्नेछन् भने महासचिव पोखरेलले पार्टी शुद्धीकरण, संगठन सुदृढीकरण र आगामी निर्वाचनको कार्ययोजनासम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने तयारी छ।
भेलाको तयारी बैठकमा पार्टी सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलगायत नेताहरूको उपस्थिति थियो। कार्यक्रमलाई व्यवस्थित बनाउन सभाहल व्यवस्थापन, मञ्च निर्माण, सजावट, प्रचारप्रसार तथा स्वयंसेवक परिचालनका कामलाई तीव्रता दिइएको ढकालले जानकारी दिएका छन्।
पराजयको समीक्षा र संगठन पुनर्जागरण एजेन्डा
गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले तय गरेका कार्यभारलाई राष्ट्रिय भेलाको मुख्य छलफलको विषय बनाइनेछ। आधारभूत वर्ग र समुदायसम्म संगठन विस्तार, योजनाबद्ध काम र मूल्यांकन प्रणालीको विकास तथा युवा र महिलालाई नेतृत्व एवं निर्णय प्रक्रियामा स्थापित गर्ने विषयलाई एमालेले प्राथमिकतामा राखेको छ।
त्यस्तै, पार्टी पुनर्जागरण, प्रतिपक्षको प्रभावकारी भूमिका, डिजिटल माध्यमबाट राजनीतिक प्रतिवाद र निरन्तर संघर्षका विषयमा पनि छलफल हुनेछ।
निर्वाचनमा पराजय बेहोरेपछि पार्टीभित्र देखिएको निराशा हटाउनु एमालेका लागि अहिलेको प्रमुख चुनौती बनेको छ। त्यसैले भेलामार्फत कार्यकर्ताको आत्मविश्वास बढाउने, जनतासँगको सम्बन्ध पुनः स्थापित गर्ने र पार्टीको संगठनात्मक अवस्था सुधार्ने रणनीति एमालेले अघि सारेको छ।
विशेषगरी स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई समेत सहभागी गराएर पार्टीको वास्तविक जनाधार र तल्लो तहको संगठनात्मक अवस्थाबारे जानकारी लिने एमालेको योजना छ।
लक्ष्य स्थानीय तह निर्वाचन
एमालेले आगामी स्थानीय तह निर्वाचनलाई ध्यानमा राख्दै वडा र पालिका तहको संगठनलाई व्यवस्थित बनाउने रणनीति अघि सारेको छ।
पार्टीले मंसिर २६ गते वडा कमिटी र पुस ४ गते पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरिसकेको छ। असोज २२ गते बसेको स्थायी कमिटीको प्रथम बैठकले तय गरेको अधिवेशन कार्यतालिकाअनुसार तल्ला तहमा नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ। वडा र पालिका अधिवेशनपछि प्रदेश अधिवेशन गर्ने एमालेको तयारी छ।
राष्ट्रिय कार्यकर्ता भेलाले तल्लो तहका संगठनलाई सक्रिय बनाउने, नेतृत्व चयन प्रक्रियालाई व्यवस्थित गर्ने र आगामी निर्वाचनका लागि आवश्यक राजनीतिक तथा सांगठनिक आधार तयार गर्ने अपेक्षा एमालेले गरेको छ।
यातायात व्यवस्थापनलाई सहज बनाउन भेलामा सहभागी हुने नेता तथा कार्यकर्तालाई सम्भव भएसम्म निजी सवारीसाधनको सट्टा सार्वजनिक यातायात प्रयोग गर्न पनि पार्टीले आग्रह गरेको छ।
निर्वाचनको पराजयपछि पार्टीभित्र देखिएको निराशा चिर्ने, संगठनलाई अनुशासित र सक्रिय बनाउने तथा आगामी निर्वाचनका लागि आधार तयार गर्ने जिम्मेवारी एमालेको राष्ट्रिय भेलामाथि छ। भेलाले तय गर्ने राजनीतिक निष्कर्ष र त्यसको कार्यान्वयनले एमालेको संगठनात्मक पुनर्जागरणको प्रयास कति प्रभावकारी हुन्छ भन्ने निर्धारण गर्ने योजना छ।


प्रतिक्रिया