हिमालय जलवायु उत्थानशीलता संयन्त्रमा चिनियाँ सहयोगको अपेक्षा

हिमालय जलवायु उत्थानशीलता संयन्त्रमा चिनियाँ सहयोगको अपेक्षा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टर्की – नेपालले नेपाल, भारत र चीनको नेतृत्वमा प्रस्तावित हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापनाका लागि चिनियाँ सहयोग र समर्थनको अपेक्षा गरेको छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा बिहीबार चीनका पारिस्थितिकी तथा वातावरणमन्त्री ह्वाङ रुनछ्युसँग भएको द्विपक्षीय भेटवार्तामा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्रस्ताव प्रस्तुत गरेकी हुन् ।

भेटमा मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम साझा सीमापार चुनौती भएकाले यसको सामना गर्न क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएको उनको सचिवालयले जनाएको छ ।

गत २६ अगस्टमा रसुवा–भोटेकोशी क्षेत्रमा आएको विपद्पछि चीनले उपलब्ध गराएको सहयोग तथा माथिल्लो तटीय क्षेत्रको मौसम, हिमनदी र हिमताल जोखिमसम्बन्धी नियमित सूचना आदानप्रदानप्रति उनले आभार व्यक्त गरेकी थिइन् ।

मन्त्री चौधरीले कोप–३१ को निर्णयमा पर्वतीय क्षेत्रका मुद्दालाई प्राथमिकता दिनुपर्ने, तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्नुपर्ने तथा जलवायु अनुकूलनका लागि पर्याप्त वित्त सुनिश्चित गर्नुपर्ने नेपालको धारणा प्रस्तुत गरिन् ।

उनले नवीकरणीय ऊर्जा, विद्युतीय यातायात र स्वच्छ प्रविधिको विकासमा चीनले हासिल गरेको प्रगतिको प्रशंसा गर्दै २ देशबिच जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिइन् । उनले चिनियाँ मन्त्रीलाई नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिइन् ।