विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएईतिर

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएईतिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने विश्व प्रहरी शिखर सम्मेलन (वर्ल्ड पुलिस समिट) मा सहभागी हुन शुक्रबार साँझ दुबई प्रस्थान गरेका छन्।

यूएई सरकारको औपचारिक निमन्त्रणामा गृहमन्त्री गुरुङ शुक्रबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन्।

सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास तथा अपराध नियन्त्रणका नवीनतम अभ्यासबारे छलफल र अनुभव आदानप्रदान हुने बताइएको छ।

सम्मेलनमा उच्चस्तरीय नीतिगत छलफल, विषयगत तथा प्राविधिक सत्र, उच्चस्तरीय गोलमेच बैठक, कार्यशाला तथा तालिम, अन्तर्राष्ट्रिय प्रदर्शनी र विश्व प्रहरी पुरस्कार वितरणलगायतका कार्यक्रम हुनेछन्।

यस संस्करणमा रक्षा तथा संकट प्रतिकार्य, स्वचालित रोबोट, ड्रोन तथा मानवीय क्षमता, कृत्रिम बुद्धिमत्तामा आधारित प्रहरी सेवा, डिजिटल रूपान्तरण, साइबर आक्रमण तथा डिजिटल ठगी नियन्त्रण, क्रिप्टो कारोबार र वित्तीय अपराध नियन्त्रणजस्ता विषयलाई प्राथमिकतामा राखिएको छ।

त्यस्तै, अपराध अनुसन्धान, गुप्तचर सूचना तथा आधुनिक फरेन्सिक प्रविधि, लागुऔषध तथा संगठित अपराध नियन्त्रण, सीमा सुरक्षा, स्मार्ट सुरक्षा प्रणाली, भू-उपग्रह सूचना र अन्तरिक्ष सुरक्षासहित १४ विषयगत क्षेत्र सम्मेलनमा समेटिएका छन्।

सम्मेलनमा सहभागी हुने क्रममा गृहमन्त्री गुरुङले यूएईसहित विभिन्न मुलुकका आन्तरिक मामिलासम्बन्धी मन्त्री तथा सुरक्षा प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। भेटवार्तामा सुरक्षा क्षेत्रमा प्राविधिक सहयोग र अनुभव आदानप्रदानका विषयमा छलफल हुने बताइएको छ।

नेपालले मानव बेचबिखन, मानव तस्करी, साइबर अपराध, लागुऔषध तथा सीमापार संगठित अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने अवसरका रूपमा सम्मेलनलाई उपयोग गर्ने अपेक्षा गरिएको छ।

त्यस्तै, नेपाल प्रहरीको आधुनिकीकरण, प्रविधि हस्तान्तरण तथा विशेषज्ञ तालिमका लागि सम्भावित साझेदार संस्था पहिचान गर्न पनि सम्मेलन उपयोगी हुने गृह मन्त्रालयले जनाएको छ।