भारतीय राजदूतको दौडधुप, एकै दिन मन्त्रीदेखि निजी क्षेत्रका प्रतिनिधिसम्मलाई भेटे

भारतीय राजदूतको दौडधुप, एकै दिन मन्त्रीदेखि निजी क्षेत्रका प्रतिनिधिसम्मलाई भेटे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले शुक्रबार एकै दिन सरकारका दुई मन्त्री, परराष्ट्र सचिव र निजी क्षेत्रका प्रतिनिधिसँग भेटवार्ता गरेका छन्।

पछिल्लो समय नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने प्रयास भइरहेका बेला राजदूत दलेलाको सक्रियता बढेको हो।

राजदूत दलेलाले पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग भेट गरी नेपाल–भारतबीच पूर्वाधार विकास तथा कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका छन्।

भेटमा पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका क्षेत्रमा सहकार्यका सम्भावनाबारे विचार आदानप्रदान भएको भारतीय दूतावासले जनाएको छ।

दुवै पक्षले बहुआयामिक नेपाल–भारत साझेदारीलाई थप अघि बढाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

त्यस्तै, दलेलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलसँग पनि भेटवार्ता गरेका छन्। भेटमा कनेक्टिभिटी विस्तार, पर्यटन प्रवर्द्धन र दुई देशका नागरिकबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको छ।

राजदूत दलेलाले परराष्ट्र सचिव अमृतबहादुर रायसँग पनि भेट गरेका छन्। उनीहरूबीच द्विपक्षीय सहकार्यका विभिन्न पक्ष तथा नेपाल–भारतबीचको घनिष्ठ मित्रता र सम्बन्धलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको भारतीय दूतावासले जनाएको छ।

यसैगरी, दलेलाले नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई) का अध्यक्ष कुनाल कायलसँग पनि भेटवार्ता गरेका छन्।

भारतीय दूतावासमा भएको भेटमा नेपाल र भारतबीच व्यापार, आर्थिक तथा लगानी सम्बन्ध विस्तारमा निजी क्षेत्रको भूमिकाबारे छलफल भएको थियो।

राजदूत दलेलाले पछिल्लो तीन दशकदेखि नेपाल–भारत व्यापार, आर्थिक तथा लगानी सम्बन्ध विस्तारमा संघले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरेका छन्।

उनले नेपालका उद्योगी व्यवसायी तथा निजी क्षेत्रसँग सहकार्य गर्दै दुई देशबीचको व्यापार र आर्थिक साझेदारीलाई अघि बढाउन भारत तयार रहेको बताएका छन्।

एकै दिन भएका यी भेटवार्तामा पूर्वाधार, पर्यटन, कनेक्टिभिटी, कूटनीतिक सहकार्य र व्यापार तथा लगानीका विषय समेटिएका छन्।

भारतीय दूतावासले सार्वजनिक गरेका विवरणमा यी सबै क्षेत्रमा नेपाल–भारत साझेदारीलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको उल्लेख छ।

नेपालमा नयाँ राजनीतिक नेतृत्व आएपछि भारतसँगको सम्बन्धलाई थप व्यवस्थित र परिणाममुखी बनाउने विषय चर्चामा रहेका बेला भारतीय राजदूतको यो सक्रियतालाई अर्थपूर्ण मानिएको छ।