जनकपुरले तेहेरो अकंसमेत छुन सकेन, चितवनले जित्न ८९ रन बनाउनुपर्ने

जनकपुरले तेहेरो अकंसमेत छुन सकेन, चितवनले जित्न ८९ रन बनाउनुपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध जनकपुर बोल्ट्सले ८९ रनको सामान्य लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन मात्र बनाउन सक्यो।

जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाए। उनले २५ बलमा दुई चौका र एक छक्का प्रहार गरे। विशाल शुस्लिङले १५ तथा राहुल यादवले अविजित १० रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

जनकपुरको सुरुवात निकै खराब रह्यो। टोलीले पावरप्लेमा २२ रन बनाउँदा तीन विकेट गुमाएको थियो। २२ रनमै चार विकेट गुमाएको जनकपुरले त्यसपछि पनि सम्हालिन सकेन। ४५ रन हुँदा पाँच विकेट गुमाएको टोलीले ७९ रनमा नवौँ विकेट गुमाएको थियो।

चितवनका रञ्जित कुमारले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए। उनले तीन ओभरमा एक मेडन राख्दै जम्मा दुई रन खर्चिए। सिकन्दर राजाले चार ओभरमा दुई मेडनसहित १० रन दिएर दुई विकेट लिए। कमिल मिश्राले पनि दुई विकेट हात पारे। रिजन ढकाल र कमल ऐरीले एक/एक विकेट लिए।

आजको खेलमा चितवनले एक खेलाडी परिवर्तन गरेको छ। पाँच खेलबाट दुई जित, दुई हार र एक खेलमा अंक बाँडेको चितवन पाँच अंकसहित तालिकाको पाँचौँ स्थानमा छ। लिग चरणमा चितवनले आजसहित दुई खेल खेल्न बाँकी छ। प्लेअफमा पुग्ने सम्भावना बलियो बनाउन चितवनलाई आजको जित महत्त्वपूर्ण छ।

यता, दुई जित र चार हार बेहोरेको जनकपुर चार अंकसहित छैटौँ स्थानमा छ। आज पराजित भए जनकपुर प्लेअफ दौडबाट बाहिरिनेछ। जित निकाले पनि प्लेअफमा पुग्न अन्य खेलको नतिजा कुर्नुपर्नेछ।