काठमाण्डु – दुग्ध विकास संस्थान (डीडीसी) लाई १२ करोड रुपैयाँभन्दा बढी आर्थिक हानि पुर्याएर गैरकानुनी लाभ लिएको आरोपमा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीनकिशोर शर्मा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शर्मालाई शुक्रबार ललितपुरको भैँसेपाटीबाट पक्राउ गरेको हो ।
सीआईबीका अनुसार संस्थानका तत्कालीन महाप्रबन्धक तथा कर्मचारीहरूको संलग्नतामा गैरकानुनी रूपमा आर्थिक लाभ लिई संस्थानलाई गम्भीर हानि नोक्सानी पुर्याइएको भन्ने उजुरी परेपछि प्रारम्भिक छानबिन गरिएको थियो ।
छानबिनका क्रममा संस्थानका तत्कालीन महाप्रबन्धक, प्रशासनिक उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीहरूको पूर्वयोजना र मिलेमतोमा विभिन्न समूह खडा गरी संगठित सञ्जालमार्फत संस्थानलाई प्रत्यक्ष आर्थिक क्षति पुर्याइएको र १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ गैरकानुनी लाभ लिएको प्रारम्भिक रूपमा पुष्टि भएको सीआईबीले जनाएको छ ।
सीआईबीका अनुसार उक्त कार्य मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको आपराधिक विश्वासघात गर्न नहुने कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरसँग सम्बन्धित देखिएको छ ।
सर्लाहीको रामनगर गाउँपालिका–३ स्थायी ठेगाना भएका ४५ वर्षीय शर्मा हाल ललितपुर महानगरपालिका–२५ भैँसेपाटीमा बस्दै आएका थिए । उनलाई काठमाण्डु जिल्ला अदालत बबरमहलबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
पक्राउ परेका शर्मामाथि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।


प्रतिक्रिया