कोप–३१ मा हिमाली मुद्दा उठाएर स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल

कोप–३१ मा हिमाली मुद्दा उठाएर स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा सहभागी भएर परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार स्वदेश फर्किएका छन् ।

टर्कीको अन्ताल्यामा नोभेम्बर ९ देखि जारी सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै खनाल सहभागी भएका थिए । उनी नेतृत्वको प्रतिनिधिमण्डलले जलवायु परिवर्तनबाट हिमाली क्षेत्रमा परेको असर, जलवायु न्याय, अनुकूलनका लागि वित्तीय सहयोग र विपद्पछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोगको विषय उठाएको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार खनालले सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालमा हालै भएका जलवायुजन्य विपद्ले जनजीवन, पूर्वाधार, जीविकोपार्जन र पारिस्थितिक प्रणालीमा पुर्‍याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए ।

उनले पर्वत तथा जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्य कार्यक्रम बनाउनुपर्ने प्रस्ताव राख्दै विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्नुपर्नेमा जोड दिएका थिए । हिमाली क्षेत्रका विशिष्ट सूचकलाई जलवायु अनुकूलन र वित्तसम्बन्धी अन्तर्राष्ट्रिय ढाँचामा समावेश गर्नुपर्ने नेपालको धारणा पनि उनले प्रस्तुत गरेका थिए ।

सम्मेलनमा नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरेका अतिकम विकसित मुलुकले नै यसको बढी असर भोग्नुपरेको विषय उठाएको थियो । जलवायु अनुकूलनका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार वित्तीय स्रोत उपलब्ध गराउन, राष्ट्रिय अनुकूलन योजना कार्यान्वयन गर्न र स्थानीय समुदायको नेतृत्वमा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा खनालले जोड दिएका थिए ।

हिमाली क्षेत्रमा विपद्को पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन तथ्यांक संकलन, भूउपग्रहमा आधारित अनुगमन, हिउँको निगरानी र स्थानीय भाषामा सूचना प्रवाह आवश्यक रहेको विषय पनि उनले उठाएका थिए ।

नोभेम्बर १२ मा नेपालसहित भुटान, किर्गिस्तान, पाकिस्तान र ताजिकिस्तानको संयुक्त आयोजनामा भएको उच्चस्तरीय कार्यक्रममा हिमाली क्षेत्रका समस्या अन्तर्राष्ट्रिय जलवायु वार्ताको मूलधारमा ल्याउनुपर्ने धारणा राखिएको थियो । त्यस क्रममा उत्सर्जन कटौती, अनुदानमा आधारित जलवायु वित्त, हानि तथा नोक्सानीको सम्बोधन र हिमनदीको अनुगमनलाई प्राथमिकता दिनुपर्ने विषय उठाइएको मन्त्रालयले जनाएको छ ।

सम्मेलनका क्रममा खनालले इथियोपिया र फिनल्यान्डका मन्त्री तथा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। अतिकम विकसित मुलुकका मन्त्रीहरूको प्रतिनिधिमण्डलका साथ गुटेरेससँग सामूहिक भेटवार्तासमेत भएको थियो ।

खनालले तुर्किएमा रहेका गैरआवासीय नेपालीका प्रतिनिधिसँग पनि छलफल गरेका थिए । विदेशमा रहेका नेपालीका समस्या, कन्सुलर सेवा तथा आप्रवासी श्रमिकको अधिकार संरक्षणका विषयमा छलफल भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका अनुसार नोभेम्बर ९ देखि १३ सम्म खनालले सम्मेलनको उद्घाटन सत्र, अन्ताल्या शिखर सम्मेलन, छवटा उच्चस्तरीय तथा विषयगत कार्यक्रम र विभिन्न द्विपक्षीय भेटवार्तामा सहभागिता जनाएका थिए ।

सम्मेलनको अन्तिम सातामा हुने बैठक तथा वार्तामा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले ने
पाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने मन्त्रालयले जनाएको छ ।