मधेसको छठ घाटमा रवि र गगन : धार्मिक आस्थासँग जोडिएको राजनीतिक स्वार्थ

मधेसको छठ घाटमा रवि र गगन : धार्मिक आस्थासँग जोडिएको राजनीतिक स्वार्थ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – यतिबेला तराई-मधेसमा छठ पर्वको रौनक छाएको छ । तराई–मधेसका पोखरी, नदी र जलाशयका घाटहरू सजिन थालेका छन् । तराई-मधेससँगै छठको रौनक पहाड र उपत्यकामा देखिन थालेको छ।

परिवार, आफन्त र समुदायलाई जोड्ने यो पर्व धार्मिक तथा सांस्कृतिक दृष्टिले मात्रै नभई सामाजिक सम्बन्ध विस्तारको अवसर पनि हो ।

तर यस वर्षको छठ पर्वले धार्मिक र सांस्कृतिक महत्त्वसँगै राजनीतिक चर्चा पनि बढाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जनकपुरधाम पुगेर छठ मनाउँदै छन् । उता नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ मनाउन आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ पुग्दै छन् ।

यसबीचमा प्रधानमन्त्री वालेन्द्र शाह पनि छठको अवसरमा मधेस जाने चर्चा छ । तर उनको सचिवालयले यस विषयमा अहिलेसम्म केही जनाएको छैन । वालेन्द्रको पुर्ख्यौली घर महोत्तरी भने उनलेे चुनाव झापा क्षेत्र नम्बर ५ बाट जितेका हुन्।

वीरगञ्ज महानगरपालिका–१० स्थित घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले प्रधानमन्त्रीलाई छठ पर्वमा उपस्थित हुन औपचारिक निमन्त्रणा पठाएको छ । रास्वपा सभापति लामिछाने जनकपुर जाने भएपछि प्रधानमन्त्रीलाई वीरगञ्जमा उपस्थित गराउने प्रयास भएको हो ।

समितिले पर्सा–२ का सांसद सुशील साह कानुमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निमन्त्रणापत्र पठाए पनि प्रधानमन्त्रीको सचिवालयले केही बताएको छैन । लामिछाने र थापा दुवै नेताको गन्तव्य मधेस भए पनि उनीहरूको राजनीतिक परिस्थिति र उद्देश्य फरक छन् ।

लामिछानेका लागि जनकपुरधामको भ्रमण आफ्नो पार्टीले मधेसमा प्राप्त गरेको जनमतलाई थप बलियो बनाउने अवसर हो । उता थापाका लागि भने सर्लाही पुग्नु निर्वाचनमा पराजयपछि मतदातासँगको सम्बन्ध पुनः स्थापित गर्दै कांग्रेसको राजनीतिक आधार फर्काउने प्रयास मानिएको छ ।

जनमत जोगाउने रविको रणनीति

रास्वपा सभापति लामिछानेले यस वर्षको छठ पर्व जनकपुरधामस्थित ऐतिहासिक गंगासागरमा मनाउने कार्यक्रम तय गरेका छन् । उनी पत्नी निकिता पौडेलसहित शनिबार जनकपुर पुग्ने कार्यक्रम छ ।

उनको भ्रमणमा धार्मिक अनुष्ठानसँगै स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट पनि समावेश छ । जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा शुभकामना आदानप्रदान तथा सम्बोधन र पार्टीका विभिन्न तहका नेतासँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत तय गरिएको छ । त्यसपछि उनी छठका धार्मिक विधिमा सहभागी हुनेछन् ।

लामिछानेको जनकपुर आगमनलाई सामान्य धार्मिक भ्रमणका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन । पछिल्लो निर्वाचनमा मधेसमा रास्वपाले प्राप्त गरेको समर्थनलाई कायम राख्नु पार्टीका लागि महत्त्वपूर्ण चुनौती बनेको छ ।

मधेसको राजनीतिमा लामो समयदेखि नेपाली कांग्रेस, मधेस केन्द्रित दल र अन्य परम्परागत राजनीतिक शक्तिको प्रभाव रहँदै आएको थियो । तर फागुन २१को निर्वाचनले मतदाताको राजनीतिक रोजाइमा परिवर्तन आएको संकेत गरेको छ । नयाँ राजनीतिक शक्तिप्रति देखिएको आकर्षणले मधेसको राजनीतिक समीकरणसमेत फेरिएको छ ।

यस्तो अवस्थामा लामिछानेको जनकपुर भ्रमणलाई रास्वपाले आफ्नो जनाधारसँग सम्बन्ध बलियो बनाउने अवसरका रूपमा उपयोग गर्न सक्छ । चुनावका बेला मत माग्न पुगेका नेताहरू चुनावपछि पनि जनतामाझ पुग्नुपर्छ भन्ने सन्देश दिनु यस भ्रमणको अर्को राजनीतिक पक्ष हो ।

तर निर्वाचनमा प्राप्त मतलाई दीर्घकालीन राजनीतिक समर्थनमा बदल्न धार्मिक कार्यक्रममा सहभागी हुनु मात्र पर्याप्त नहुने रास्वपाका स्थानीय नेताहरूको भनाइ छ ।

‘मधेसका नागरिकले रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सुशासन र संघीयताको प्रभावकारी कार्यान्वयनजस्ता विषयमा ठोस कामको अपेक्षा गरेका छन्’ रास्वपा मधेश प्रदेशका महामन्त्री मनिषकुमार साहले भने ।

जनतामाझ फर्किने गगनको प्रयास

कांग्रेसका सभापति थापाका लागि छठको अवसरमा सर्लाही पुग्नुको राजनीतिक अर्थ केही फरक छ । उनी पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बनेका थिए । तर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहसँग ठूलो मतान्तरले पराजित भए ।

पार्टीको नेतृत्वमा रहेका सभापति आफ्नै निर्वाचन क्षेत्रमा पराजित हुनु कांग्रेसका लागि राजनीतिक रूपमा अर्थपूर्ण घटना थियो ।

यसले मधेसमा कांग्रेसको परम्परागत जनाधार र संगठनात्मक प्रभावबारे पनि प्रश्न उठाएको थियो । यस्तो अवस्थामा छठ मनाउन सर्लाही पुग्नु थापाका लागि स्थानीय मतदातासँगको सम्बन्ध कायम राख्ने अवसर हो । निर्वाचनमा पराजित भए पनि आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग निरन्तर सम्पर्कमा रहन चाहेको सन्देश उनले यस भ्रमणमार्फत दिन खोजेको देखिन्छ ।

थापाका लागि अर्को चुनौती कांग्रेसको संगठनलाई पुनः सक्रिय बनाउनु हो । सभापतिको जिम्मेवारी सम्हालेपछि पार्टीलाई नयाँ पुस्तासँग जोड्ने, संगठनलाई चलायमान बनाउने र गुमेको राजनीतिक विश्वास फर्काउने चुनौती उनीसामु छ ।

कांग्रेसको मधेसमा ऐतिहासिक राजनीतिक आधार छ । तर पछिल्ला वर्षमा मधेस केन्द्रित दलको उदय, नयाँ पुस्ताको राजनीतिक चेतना र नयाँ राजनीतिक शक्तिप्रतिको आकर्षणले कांग्रेसको प्रभावमा चुनौती थपेको छ ।

त्यसैले सर्लाहीको छठ घाटमा थापाको उपस्थिति स्थानीय मतदातासँगको सम्बन्ध विस्तारसँगै पार्टीको संगठन पुनर्निर्माणको प्रयासका रूपमा पनि बुझ्न सकिन्छ ।

एउटै गन्तव्य, फरक राजनीतिक

लामिछाने र गगन दुवैका लागि छठको अवसरमा मधेस पुग्नु जनतासँग प्रत्यक्ष सम्बन्ध जोड्ने अवसर हो । तर दुवैको राजनीतिक आवश्यकता फरक छ ।

लामिछानेले नयाँ राजनीतिक शक्तिका रूपमा प्राप्त गरेको जनमतलाई जोगाउनुपर्नेछ । रास्वपाले निर्वाचनमा पाएको समर्थनलाई संगठन विस्तार, सुशासन र विकासका परिणाममार्फत कायम राख्नुपर्ने चुनौती छ ।

अर्कोतर्फ थापाले कांग्रेसको परम्परागत जनाधार पुनः प्राप्त गर्नुपर्नेछ । त्यसका लागि सर्लाहीजस्ता क्षेत्रमा संगठनलाई सक्रिय बनाउने, स्थानीय नेतृत्वलाई विश्वासमा लिने र मतदातासँग नियमित सम्पर्क कायम राख्ने आवश्यकता छ ।

यस अर्थमा रविको जनकपुर यात्रा प्राप्त राजनीतिक आधार बलियो बनाउने प्रयास हो भने गगनको सर्लाही यात्रा गुमेको राजनीतिक विश्वास पुनः प्राप्त गर्ने प्रयासका रूपमा देखिन्छ ।

स्थानीय निर्वाचनको तयारी

रवि र गगनको छठ भ्रमणलाई आगामी स्थानीय तहको निर्वाचनको सन्दर्भमा पनि हेर्न सकिन्छ । प्रतिनिधिसभा निर्वाचनमा प्राप्त मतलाई स्थानीय तहसम्म विस्तार गर्नु रास्वपाका लागि चुनौती छ ।

स्थानीय निर्वाचनमा उम्मेदवारको व्यक्तिगत सम्बन्ध, स्थानीय संगठन, सामाजिक प्रभाव र नागरिकका दैनिक समस्यासँग जोडिएको भूमिका महत्त्वपूर्ण हुन्छ ।

रास्वपाले संसदीय निर्वाचनमा प्राप्त गरेको जनमतलाई स्थानीय तहमा पनि कायम राख्न संगठन विस्तार गर्नुपर्नेछ । त्यसका लागि स्थानीय नेतृत्व विकास र जनतासँग नियमित सम्पर्क आवश्यक हुन्छ ।

कांग्रेसका लागि भने आफ्नो पुरानो संगठनलाई सक्रिय बनाउनु र गुमेको मताधार फर्काउनु पर्नेछ । सभापति थापाको सर्लाही भ्रमणले स्थानीय नेता–कार्यकर्तामा उत्साह थप्न सक्छ ।