मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विश्वासको मत नपाउने सम्भावना देखेपछि मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन् ।

दुई गठबन्धन दल एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले समर्थन फिर्ता लिएपछि विश्वासको मत पाउने सम्भावना नरहेपछि मुख्यमन्त्री यादवले शनिबार राजीनामा दिएका हुन् ।

प्रदेशसभाको शनिबार बसेको बैठकमा मुख्यमन्त्री यादवले आफ्नो मन्त्वय राख्दै पदबाट राजीनामा दिएका हुन् ।
प्रदेशसभाको दोस्रो कार्यकालमा संसद् बैठकबाटै राजीनामा गर्ने यादव ५औं मुख्यमन्त्री हुन् । यसअघि, एमालेका सरोजकुमार

यादव (महोत्तरी)ले पनि विश्वासको मत लिने क्रममा राजीनामा गरेका थिए । उनी अघि जितेन्द्र सोनलले विश्वासको मत लिने क्रममै राजीनामा दिए ।

सोनलअघि जनमत पार्टीका सतिशकुमार सिंहले विश्वासको मत जुटाउन नसक्दा पदबाट राजीनामा दिएका थिए । यस्तै जसपा नेपालका सरोजकुमार यादव (बारा) ले पनि विश्वासको मत लिन नसक्दा स्वतः पदमुक्त भएका थिए ।

विश्वासको मत लिनका लागि सभामुख रामअशिष यादवले शनिबार दिउँसो प्रदेशसभा बैठक आह्वान गरेका थिए ।

सरकारमा सहभागी एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका थिए ।

नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्दै आएका एमालेका चार मन्त्रीले असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।

त्यसपछि सरकारमा सहभागी नेकपाका चार मन्त्रीले पनि कात्तिक २० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए।

दुई प्रमुख सहयोगी दलले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो । एक सय ७ सदस्यीय मधेस प्रदेश सभामा सरकार गठन तथा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ।

प्रदेश सभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन्।

प्रदेश सभाको अङ्क गणितअनुसार कांग्रेसका २२ सांसद मात्रै रहेकाले मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न थप ३२ सांसदको समर्थन जुटाउनु पर्ने थियो ।

मुख्यमन्त्री यादवले राजीनामा दिएपछि अब प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि संविधानको धारा १६८ को २ बमोजिम दाबी पेश गर्न आह्वान गर्ने छन् ।