भारतमा भीषण हावाहुरीसहित भारी वर्षाको चेतावनी, नेपालमा कस्तो पर्ला प्रभाव ?

भारतमा भीषण हावाहुरीसहित भारी वर्षाको चेतावनी, नेपालमा कस्तो पर्ला प्रभाव ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बंगालको खाडीमा विकसित मौसमी प्रणालीले भारतमा चक्रवाती आँधीको रूप लिने मौसम विदको चेतावनीपछि यसको क्षेत्रीय प्रभावबारे चासो बढेको छ ।

भारतका तटीय क्षेत्रमा वर्षा र हावाहुरीको पूर्वानुमान भइरहेका बेला नेपालमा समेत यसको असर पर्न सक्ने हो कि होइन भन्ने प्रश्न उठेको छ ।

यद्यपि नेपालमा जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले वर्षा हुनेबारे अहिलेसम्म आधिकारिक पूर्वानुमान सार्वजनिक गरेको छैन ।

दक्षिणपूर्वी बंगालको खाडीमा शुक्रबार बिहान साढे ५ बजे बनेको न्यून चापीय क्षेत्र अहिले क्रमशः विकसित भइरहेको छ । अण्डमान सागरको मध्य भाग तथा आसपासको वायुमण्डलीय गतिविधिले यो प्रणाली निर्माण भएको भारतको मौसम विज्ञान विभाग (आईएमडी) ले जनाएको छ ।

उक्त प्रणालीको आगामी अवस्थाबारे विभागले गरेको आकलनअनुसार शनिबार थप विकसित भएर स्पष्ट न्यून चापीय क्षेत्रमा परिणत हुनेछ ।

आइतबार न्यून चापीय दबाबमा विकसित हुने र सोमबार साँझसम्म चक्रवाती आँधी बन्न सक्ने सम्भावना औंल्याइएको छ ।
उक्त प्रणाली उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने अनुमान गरिएको छ ।

चक्रवातको सम्भावित विकाससँगै समुद्री क्षेत्रमा हावाको वेग पनि बढ्ने देखिएको बीबीसीको हिन्दी संस्करणले जनाएको छ ।


अण्डमान सागरमा कात्तिक २८ र २९ गते तथा दक्षिणपूर्वी बंगालको खाडीमा कात्तिक २८ देखि मंसिर १ गतेसम्म प्रतिघण्टा ५० किलोमिटरसम्म हावा चल्न सक्नेछ ।

झोक्कासहित यसको गति ६० किलोमिटरसम्म पुग्ने पूर्वानुमान छ ।

दक्षिणपश्चिमी बंगालको खाडीमा मंसिर १ देखि ३ गतेसम्म र मध्य बंगालको खाडीमा मंसिर २ र ३ गते प्रतिघण्टा ५५ किलोमिटरसम्म हावा चल्न सक्ने विभागले जनाएको छ ।

झोक्कासहित हावाको गति प्रतिघण्टा ६५ किलोमिटरसम्म पुग्न सक्नेछ ।

ओडिसाका तटीय र दक्षिणी जिल्लामा सम्भावित जोखिम व्यवस्थापनका लागि प्रशासनलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

राज्यका विपद् व्यवस्थापनमन्त्री सुरेश पुजारीले मौसम विभागबाट ओडिसामा पर्ने प्रभावबारे औपचारिक पूर्वानुमान नआए पनि सरकारले आवश्यक तयारी थालेको बताएका छन् ।

सम्भावित अवस्थाको समीक्षा गर्न उनले वरिष्ठ सरकारी अधिकारीसँग बैठक गर्ने तयारी गरेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।

ओडिसाको भुवनेश्वरस्थित मौसम केन्द्रले मंसिर २ र ३ गते केन्द्रपाडा तथा जगतसिंहपुर जिल्लामा भारी वर्षा हुन सक्ने भन्दै पहेँलो सतर्कता जारी गरेको छ ।

यही अवधिमा बालासोर, भद्रक, जाजपुर, केन्द्रपाडा, जगतसिंहपुर, कटक, केओन्झार, मयूरभञ्ज, गजपति, गञ्जाम, पुरी, खुर्दा र नयागढ जिल्लामा चट्याङसहित मेघगर्जन हुने तथा प्रतिघण्टा ३० देखि ४० किलोमिटरको गतिमा हावा चल्न सक्ने पूर्वानुमान छ ।

मंसिर ३ र ४ गते रायगढा, गजपति, गञ्जाम र पुरी जिल्लामा भारी वर्षा हुन सक्ने भन्दै ती क्षेत्रमा पनि सतर्कता जारी गरिएको छ ।

नेपालमा भने यो प्रणालीको प्रभावबारे तत्काल निष्कर्ष निकाल्न सकिने अवस्था नरहेको मौसमविद बताउँछन् ।

चक्रवातको दिशा, शक्ति र त्यसले उत्पन्न गर्ने वायुमण्डलीय परिवर्तनले नेपालसम्म प्रभाव विस्तार हुन्छ कि हुँदैन भन्ने निर्धारण गर्ने मौसमविद शान्ति कँडेलले बताइन् ।

मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीका कारण नेपालमा वर्षा हुने समय वा प्रभावित क्षेत्रबारे छुट्टै आधिकारिक विवरण सार्वजनिक गरेको छैन ।

यसअघि बंगालको खाडीमा विकसित अर्नब चक्रवातको प्रभावले नेपालमा पनि भारीदेखि धेरै भारी वर्षा भएको थियो ।