काठमाण्डु– एमाले सचिव महेश बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकारलाई आगामी नयाँ वर्ष २०८४ सम्म टिक्न नदिने चेतावनी दिएका छन् । उनले सरकारविरुद्ध आन्दोलन गरेरै सत्ता परिवर्तन गर्ने उद्घोष गरेका छन् ।
एमाले बागमती प्रदेश कमिटीको बैठकलाई च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै बस्नेतले वर्तमान सरकारविरुद्ध राजनीतिक प्रतिरोध चर्काउनुपर्ने बताए ।
त्यसका लागि एमालेले अन्य राजनीतिक दलसँग समेत सहकार्य गर्ने उनको भनाइ छ ।
बस्नेतले वर्तमान सरकारको नेतृत्व गरिरहेको दल र त्यसका नेताहरूमाथि सहकारी ठगीलगायतका आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लगाए ।
उनले सरकारको आयु लामो नरहेको भन्दै आगामी नयाँ वर्षसम्म पनि सत्ता टिक्न नदिने बताए ।
‘देश जलाएर आएको, खरानी ग्याङको उपमा पाएको र सहकारी ठगीलगायतका आपराधिक कर्ममा संलग्न रहेको पार्टी र त्यसका नेताहरू संलग्न वर्तमान सरकारको आयु धेरै लामो छैन । यो सरकारलाई आउँदो नयाँ वर्ष देखाउन दिनु हुँदैन,’ उनले भने ।
सरकारविरुद्धको आन्दोलनलाई निर्णायक बनाउन पार्टीको संगठनात्मक शक्ति परिचालन गर्नुपर्नेमा उनले जोड दिए ।
सरकारका अलोकतान्त्रिक गतिविधिलाई प्रविधिको माध्यमबाट जनतामाझ पुर्याउन पनि उनले कार्यकर्तालाई निर्देशन दिए ।
बस्नेतले आन्दोलनको तयारीसँगै स्थानीय कमिटीहरूको संगठन विस्तार र सुदृढीकरणमा जुट्नुपर्ने बताए ।
आगामी स्थानीय तह तथा प्रदेश तहका निर्वाचनलाई लक्षित गरेर पार्टीका संरचनाहरूलाई व्यवस्थित बनाउनुपर्ने उनको भनाइ थियो ।
आवश्यकताअनुसार अन्य राजनीतिक शक्तिसँग सहकार्य गर्दै सरकारविरुद्धको आन्दोलन र निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउने एमालेको योजना रहेको उनले बताए ।


प्रतिक्रिया