द्रुत रेलले जोड्दै जनकपुर र अयोध्या, नयाँदिल्लीबाट मोदी र बालेनले गर्नेछन् उद्घाटन

द्रुत रेलले जोड्दै जनकपुर र अयोध्या, नयाँदिल्लीबाट मोदी र बालेनले गर्नेछन् उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच रेल सेवा सुरू हुने भएको छ ।

रामायण परम्परासँग जोडिएका नेपाल र भारतका यी दुई शहरबीच साप्ताहिक रूपमा द्रुत रेल सेवा सञ्चालन हुन लागेको हो ।

शनिबार भारतको रेल मन्त्रालयले नेपाल र भारतका यी दुई रामायणकालीन शहरबीच द्रुत रेल सेवा सञ्चालन हुन लागेको औपचारिक घोषणा गरेको छ ।

प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंसिर ७ मा नयाँदिल्लीबाट भिडियो कन्फ्रेन्समार्फत रेल सेवाको संयुक्त रूपमा उद्घाटन गर्नेछन् । प्रधानमन्त्री शाह मंसिरको पहिलो साता भारत भ्रमणमा जाँदैछन् ।

रेल मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार रामायण परम्परासँग जोडिएका दुई पवित्र स्थललाई रेलमार्गबाट जोड्ने उद्देश्यले यो सेवा सुरु गर्न लागिएको हो । जनकपुरधाम माता सीताको जन्मस्थल र अयोध्या भगवान् रामको जन्मस्थलका रूपमा परिचित छन् ।

दुई देशबीचको द्विपक्षीय सहकार्यमा रेल सम्पर्कको महत्त्व रहेको उल्लेख गर्दै मन्त्रालयले भनेको छ, ‘भारत र नेपालबीच शताब्दीयौँ पुरानो सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक सम्बन्ध छ । धार्मिक परम्परा र सीमापारका समुदायबीचको सम्बन्ध यस साझेदारीका अभिन्न अंग हुन् । नयाँ रेल सेवाले रेल सम्पर्कमार्फत दुई देशका समुदायलाई अझ नजिक ल्याउँदै द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्नेछ ।’

भारतीय रेल्वेले जनकपुर र अयोध्याबिच ‘नयाँ बन्दे भारत रेल्वे’ सञ्चालन गर्न प्राविधिक परीक्षण समेत गरिसकेको छ । भारतीय रेल्वेले डब्ल्यूडीपी–४ डी ४०३७० नम्बरको रेल अयोध्याबाट जनकपुरधाम ल्याएर परीक्षण गरेको हो । हाल नेपालले ३५ किलोमिटर जनकपुरधामको कुर्थाबाट जयनगरसम्म रेल सञ्चालन गर्दै आएको छ ।

करिब ६०४ किलोमिटर लामो रेलमार्गले जनकपुरधामलाई अयोध्यासँग जोड्नेछ । उक्त रेल बिहार र उत्तर प्रदेशका विभिन्न सहर तथा बस्ती हुँदै सञ्चालन हुनेछ ।

शनिबार नै भारतीय रेल्वले प्रेस विज्ञप्ति जारी गरी भारत–नेपाल कनेक्टिभिटी सुदृढ गर्ने दिशामा एक महत्त्वपूर्ण कदम चाल्दै भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबिच नयाँ साप्ताहिक रेलसेवा सञ्चालन गर्न स्वीकृति दिएको छ जनाएको छ ।

‘यस सेवाले रामायण परम्परासँग गहिरो रूपमा जोडिएका दुई गन्तव्य– माता सीताको जन्मस्थलका रूपमा पूजनीय जनकपुरधाम र प्रभु श्रीरामको जन्मस्थल अयोध्याबिच एक महत्वपूर्ण रेल सम्पर्क स्थापित गर्नेछ’ भारतीय रेल्वेले भनेको छ ।

रेल जनकपुरधाम र अयोध्याबाहेक भारतको जयनगर, मधुबनी, सिसो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर हुँदै अयोध्याधाम पुग्नेछ ।

रेल मन्त्रालयका अनुसार उक्त रेल सेवा सातामा एकपटक सञ्चालन हुनेछ । जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्याबाट प्रत्येक सोमबार रेल छुट्ने तालिका तय गरिएको छ ।

जनकपुर–अयोध्या रेल उद्घाटनका क्रममा उत्तर प्रदेशकी राज्यपाल आनन्दीवेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथ, केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णव, उपमुख्यमन्त्री केशवप्रसाद मौर्य र ब्रजेश पाठकलगायत उच्च भारतीय अधिकारीले हरियो झन्डा हल्लाएर रेल्वे सेवा सुरुवात गर्नेछन् ।

भारत र नेपालबीच यसै वर्ष जुन महिनामा सीमापार रेल सम्पर्क विस्तार, विशेषगरी जनकपुर-अयोध्या खण्डमा यात्रुवाहक रेल सेवा सञ्चालन तथा रेल क्षेत्रको द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको थियो ।