मुम्बई- रणवीर कपुर अभिनीत फिल्म ‘रामायण : पार्ट १’ ले प्रदर्शनको १० दिनमा विश्वभरबाट १ हजार २२८ करोड भारु ग्रस कमाइ गरेको छ।
नितेश तिवारीको निर्देशनमा बनेको फिल्मले भारतमा मात्रै ८१९ करोड ५० लाख भारु कमाएको भरतीय सञ्चारमाध्यमले जनाएका छन्।
यससँगै फिल्म सन् २०२६ मा सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको सूचीमा ‘धुरन्धर–२’ पछि दोस्रो स्थानमा पुगेको छ। ‘धुरन्धर–२’ ले विश्वभरबाट १ हजार ८३९ करोड भारु कमाएको छ।
‘रामायण’ सर्वाधिक कमाइ गर्ने भारतीय फिल्महरूको सूचीमा सातौँ स्थानमा पुगेको छ। यसले शाहरुख खान अभिनीत ‘जवान’ (१ हजार १६० करोड) र यश अभिनीत ‘केजीएफ–२’ (१ हजार २१५ करोड) को कमाइलाई उछिनेको छ।
प्रदर्शनको दसौँ दिन फिल्मको कमाइमा ५१.६ प्रतिशतले वृद्धि भएको छ। दोस्रो शुक्रबार ४८ करोड १० लाख भारु नेट कमाइ गरेको फिल्मले शनिबार ७२ करोड ९० लाख भारु कमाएको थियो। एकै दिनमा यसको कमाइ २४ करोड ८० लाख भारुले बढेको हो।
रणवीरको पहिलो हजार करोड कमाउने फिल्म
‘रामायण’ रणवीर कपुरको करिअरमा विश्वव्यापी रूपमा एक हजार करोड भारुभन्दा बढी कमाइ गर्ने पहिलो फिल्म बनेको छ। यसअघि उनको सबैभन्दा बढी कमाइ गर्ने फिल्म ‘एनिमल’ थियो। सन्दीप रेड्डी वाङ्गाको निर्देशनमा बनेको उक्त फिल्मले विश्वभरबाट ९१७ करोड भारु कमाएको थियो।
हिट हुन २ हजार ८०० करोड कमाउनुपर्ने
फिल्म तथा व्यापार विश्लेषक सुमित कडेलका अनुसार कुनै फिल्म हिट वा फ्लप भएको निर्धारण वितरकको हिस्साबाट हुने आम्दानीका आधारमा गरिन्छ।
भारतीय अनलाइन दैनिक भास्करसँगको कुराकानीमा उनले फिल्म निर्माताले उच्च अदालतमा फिल्मको आधिकारिक बजेट दुई हजार करोड भारु रहेको जानकारी दिएको बताएका छन्।
उक्त बजेटका आधारमा फिल्मलाई हिट मान्न भारतमा हिन्दी संस्करणबाट कम्तीमा एक हजार १०० करोड भारु र विश्वव्यापी रूपमा दुई हजार ८०० करोड भारु कमाइ गर्नुपर्ने उनले बताए। उक्त लक्ष्य पूरा नभएसम्म फिल्मलाई हिट भन्न नमिल्ने उनको भनाइ छ।


प्रतिक्रिया