भारतीय मिडियाको विश्लेषण : बालेनको भ्रमणमा भारतले नेपालसँगको सम्बन्ध ‘रिसेट’ गर्न चाहेको छ

भारतीय मिडियाको विश्लेषण : बालेनको भ्रमणमा भारतले नेपालसँगको सम्बन्ध ‘रिसेट’ गर्न चाहेको छ

व्यापार, ऊर्जा र सीमा विवाद मुख्य एजेन्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह यही मंसिर पहिलो साता भारत भ्रमणमा जाने तयारीमा छन् । तर उनको भ्रमणको औपचारिक मिति घोषणा भइसकेको छैन ।

यद्यपि, दुवै देशले प्रधानमन्त्री शाहको भ्रमणको तयारी सुरू गरिसकेका छन् । भ्रमणको तयारीका लागि भारतका विदेश सचिव विक्रम मिस्री यही कात्तिक १८ देखि १९ सम्म दुई दिन नेपालको भ्रमण गरेर फर्केका छन् । उनले प्रधानमन्त्री शाहलाई भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तो हस्तान्तरण गरेका थिए ।

प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणको सन्दर्भलाई लिएर अहिले दुवै देशमा चर्चा र बहस भइरहेको छ ।

नेपाल र भारतका सञ्चारमाध्यहरूमा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमणको विषयमा बहस पनि सुरू भएको छ ।

भारतीय सञ्चारमाध्यमहरूले प्रधामनन्त्रीको भ्रमणलाई नेपाल–भारत सम्बन्धमा नयाँ सुरुवात गर्ने अवसरका रूपमा व्याख्या गरेका छन् ।

बालेन नेतृत्वको नयाँ सरकारसँग भारतले नयाँ कार्यसम्बन्ध स्थापित गर्न चाहेको विश्लेषण उनीहरूको छ । विगतमा देखिएका प्रोटोकलसम्बन्धी असमझदारी र सीमाविवादलाई व्यवस्थापन गर्दै उच्चस्तरीय संवाद अघि बढाउने प्रयास भइरहेको पनि ती पत्रिकाले उल्लेख गरेका छन् ।

यसका साथै भारतले नेपालसँगको सम्बन्धलाई केवल राजनीतिक तथा सुरक्षा दृष्टिकोणबाट नभई ऊर्जा, व्यापार, लगानी, पूर्वाधार र कनेक्टिभिटीका माध्यमबाट अघि बढाउनु पर्ने उनीहरूको सुझाव छ ।

भारतीय पत्रिकाहरू द इन्डिएन एक्सप्रेस, हिन्दुस्तान टाइम्स, द टाइम्स अफ इन्डिया, डेक्कन हेराल्ड लगायतले बालेनको भ्रमण तयारी, दुई देशबीचका असमझदारी, आर्थिक सहकार्य, ऊर्जा, पूर्वाधार र सीमा विवादलाई प्रमुखताका साथ उठाएका छन् ।

डेक्कन हेराल्डमा आइतबार नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रेको लामो विश्लेषण प्रकाशित छ ।

लेखमा रेले नेपाल–नेपाल सम्बन्धलाई नयाँ आधारमा अघि बढाउनुपर्ने सुझाव दिएका छन् । उनको लेखको मुख्य सन्देश बालेनको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध पुनः परिभाषित गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्छ भन्ने हो ।

नेपाललाई भारतसँगको सम्बन्धमा समान हैसियत र आपसी सम्मान चाहिएको स्पष्ट पार्दै पूर्वराजदूत रेले लेखेका छन, ‘सन् २०१५ को नाकाबन्दीको स्मृति र आर्थिक निर्भरतासम्बन्धी नेपाली संवेदनशीलतालाई भारतले बुझ्नुपर्छ ।’

नेपालको सार्वभौमिकता र स्वतन्त्र परराष्ट्र नीतिप्रतिको चाहनालाई भारतले शंकाको दृष्टिले हेर्न नहुने पनि रेको सुझाव छ ।

यस्तै चीनसँग नेपालको सम्बन्धलाई भारतविरोधी गतिविधिका रूपमा मात्रै व्याख्या गर्नु उचित नहुने रेले आफ्नो लेखमा उल्लेख गरेका छन् ।

हिन्दुस्तान टाइम्समा पत्रकार रेजाउल एच. लस्करले बालेनको भारत भ्रमणलाई दुई देशबीचको व्यापार तथा आर्थिक सम्बन्ध पुनः व्यवस्थित गर्ने अवसरका रूपमा प्रस्तुत गरेका छन् ।

उनले मुख्यतः ६ बुँदा उठाएका छन् :

– भारतसँग व्यापार तथा आर्थिक सम्बन्ध विस्तार

– हवाई, स्थल र डिजिटल कनेक्टिभिटी सुधार

– सीमा सुरक्षा तथा सीमा व्यवस्थापन

– रोजगारी र शैक्षिक अवसर विस्तार

– विगतका द्विपक्षीय सम्झौताको कार्यान्वयन

– सीमासम्बन्धी विवादलाई विद्यमान संयन्त्रमार्फत समाधान प्रयास

पत्रकार लस्करले लिपुलेक, कालापानी र लिम्पियाधुरासम्बन्धी विवाद तथा विगतमा रोकिएको भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणलाई पनि सम्बन्धमा देखिएको असमझदारीको पृष्ठभूमिका रूपमा उल्लेख गरेका छन् ।

द इन्डियन एक्सप्रेसमा नेपालका वरिष्ठ पत्रकार युवराज घिमिरे र भारतीय पत्रकार शुभजीत रोयको संयुक्त विचारमा बालेनको भारत भ्रमणअघि दुवै देशबीच कूटनीतिक सक्रियता बढेको उल्लेख छ ।

उक्त लेखमा उनीहरूले बालेन प्रधानमन्त्री बनेपछि भारतसँगको उच्चस्तरीय सम्पर्कमा देखिएको दूरी क्रमशः घट्दै गएर सम्बन्ध सुधारको प्रक्रिया सुरू भएको संकेत गरेका छन् । यसअघि मिस्रीको नेपाल भ्रमण स्थगित भएको घटनालाई पनि लेखमा स्मरण गरिएको छ ।

लेखमार्फत् उनीहरूले निम्न पाँच कुरामा जोड दिएका छन् :

– व्यापार र आर्थिक सहकार्य

– ऊर्जा तथा जलविद्युत्

– विकास सहयोग र पूर्वाधार

– दुई देशबीच आवागमन तथा कनेक्टिभिटी

भारतीय पत्रकार विशान्त अग्रवालदे द टाइम्स अफ इन्डियामा बालेनको भ्रमणमा नेपालले भारतसँग आर्थिक सहायता, जलविद्युतमा लगानी र लामो समयदेखि रोकिएका पूर्वाधार परियोजनाको कार्यान्वयनलाई प्राथमिकता दिने उल्लेख गरेका छन् ।

बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि भारतीय आर्थिक सहायता, जलविद्युत् आयोजनामा नयाँ लगानी, लामो समयदेखि रोकिएका परियोजना अघि बढाउने प्रतिबद्धता, सीमापार प्रसारण लाइन तथा विद्युत् व्यापार विस्तार, एकीकृत जाँच चौकी, सीमा पुल र पेट्रोलियम पाइपलाइनमा प्रगति भ्रमणको मुख्य एजेन्डा रहने उनको विश्लेषण छ ।

यस्तै नवभारत टाइम्सले जनकपुरधाम-अयोध्या रेलसेवाको चर्चा गरेको छ । प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा जनकपुरधाम र अयोध्याबीच द्रुत गतिको साप्ताहिक रेल सेवा सञ्चालन गर्ने निर्णयलाई दुई देशबीचको सांस्कृतिक सम्बन्ध र सीमापार सम्पर्क विस्तारसँग जोडेको नवभारत टाइम्सले उल्लेख गरेको छ ।

यसका साथै संखुवासभास्थित तल्लो अरुण जलविद्युत् आयोजना, सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन, भदौ १० को भोटेकोसी बाढीपछि पुनर्निर्माणका लागि नेपालको करिब दुई अर्ब अमेरिकी डलर सहायता अपेक्षा, विद्युत् व्यापार र भारतको प्रसारण प्रणालीमार्फत् बंगलादेशसम्म विद्युत् निर्यात जस्ता विषय शाहको भ्रमणका मुख्य एजेण्डा रहने नवभारत टाइम्सले जनाएको छ ।