काठमाण्डु – टर्कीमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आईतबार स्वदेश फर्किएका छन् ।
उनले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरे ।
त्यस्तै ७ वर्षअघि स्थापित ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’मा नेपाललाई १०५औँ (नयाँ) सदस्यका रूपमा साहभागी गराउँदै ‘उत्थानशीलताका लागि वित्त’बारे नीतिगत अवधारणा छलफलका लागि पेस गरे ।
विपद्पछि ऋणमोचनको विश्वव्यापी अभियान चलाएकी बार्बेडसकी प्रधानमन्त्री मिया मोट्ली र विश्व अर्थतन्त्रको ८५ प्रतिशत हिस्सा ओगट्ने जी–२० समूहको अध्यक्षता गर्न लागेको बेलायतका विदेशमन्त्री एड मिलीब्यान्डसँग विशेष अन्तरराष्ट्रिय प्याकेजमा सहकार्य गर्ने प्रतिबद्धता प्राप्त भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस्तै कोप–३१ मा नेपालले उठाएका विषयमा सहयोग लिने उद्देश्यले अर्थमन्त्री डा. वाग्लेसँग ५ जना प्रभावशाली जलवायु दूतहरूको छलफल भएको छ । उनीसँग बेलायतकी रेचेल काइट, अष्ट्रेलियाका विल नानकर्भिस, स्वीडेनका माटियास फ्रुमेरी, जमाइकाका डेल वेबर र राष्ट्रसंघीय महासचिवका दूत सेल्विन हार्टसँग छलफल भएको सचिवालयले जनाएको छ ।
हरित जलवायु कोषको उच्च नेतृत्वसँग भावी कार्यक्रमका बारेमा अर्थमन्त्रीले छलफल गरेका छन् भने जेनेभास्थित विश्व मौसम–विज्ञान संगठनको नेपालले समेत लाभ लिएको जलवायु मापन कोषसम्बन्धी कार्यक्रमलाई विशेष सम्बोधन गरेका थिए ।
जलवायु र अर्थशास्त्रमा ख्याति कमाउनु भएका प्रा. योहान रक्स्त्रम र प्रा. निकलस स्टर्नसँग समेत अर्थमन्त्रीले भेटघाट गरे । उनले न्युयोर्क टाईम्सलाई एक अन्तर्वार्ता दिए भने सन् २०२६ का लागि टाइम पत्रिकाले रोजेका जलवायु मुद्दामा अर्थमन्त्रीलगायत विश्वकै १०० प्रभावशाली व्यक्तित्वहरूको सम्मानमा आयोजित कार्यक्रममा पनि उनी सहभागी भएका उनको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया