गोप्य संवादका लागि वीच्याट प्रयोग गर्न थाले नेता, प्रशासक र व्यवसायी

गोप्य संवादका लागि वीच्याट प्रयोग गर्न थाले नेता, प्रशासक र व्यवसायी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राजनीतिक वृत्त, प्रशासनिक क्षेत्र र व्यावसायिक समुदायका केही व्यक्तिहरू गोप्य संवादका लागि चिनियाँ सामाजिक सञ्जाल वीच्याट प्रयोग गर्न थालेका छन् ।

सरकारी निगरानीको आशंका र अन्य सञ्जालमा डिजिटल गोपनीयता कमजोर रहेको ठानेर उनीहरुले चिनियाँ सामाजिक सञ्जालको प्रयोग बढाएका हुन् ।

फेसबुक म्यासेन्जर, ह्वाट्सएप र भाइबरजस्ता माध्यममा हुने कुराकानी सरकारी निगरानीमा पर्न सक्ने आशंकाले उनीहरूले वैकल्पिक माध्यमका रूपमा वीच्याट रोज्न थालेका सूचना प्रहरीले पाएको छ ।

वीच्याट प्रयोग गर्नेमा कांग्रेस एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेता, बहालवाला र पूर्वउच्चपदस्थ कर्मचारी, प्रहरी अधिकारी, व्यवसायी छन् ।

वीच्याट प्रयोग गर्नेमा केही ‘हाई प्रोफाइल’ कानून व्यवसायी र पत्रकारसमेत छन् ।

एमाले अध्यक्ष केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति गगनकुमार थापाले अधिकांश संवाद वीच्याटमा गर्ने गरेका छन् ।

विशेष गरी राजनीतिक, आर्थिक र व्यक्तिगत भेटघाटसँग सम्बन्धित संवेदनशील विषयमा छलफल गर्न उनीहरूले वीच्याट प्रयोग गर्ने गरेका छन् ।

अन्य सामाजिक सञ्जालमा भएका संवादको विवरण सरकारी निकायसम्म पुग्न सक्ने आशंकाले उनीहरुले म्यासेन्जर, ह्वाट्सएप र भाइबरबाट संवेदनशील कुराकानी गर्न छाडेका उच्च सुरक्षा श्रोतको दाबी छ ।

वर्तमान सत्ता नेतृत्व र त्यससँग जोडिएका व्यक्तिहरूको सामाजिक सञ्जाल तथा डिजिटल प्रविधिमा पहुँच र प्रभाव रहेकाले आफ्ना संवाद सुरक्षित राख्न वैकल्पिक माध्यमका रुपमा वीच्याट प्रयोग गर्ने गरेको एमालेका एक नेताले बताए ।

‘अहिले सत्तामा रहेकाहरू प्रविधि र अल्गोरिदमको खेल बुझेर आएका छन् । मेटासम्म उनीहरूको पहुँच रहेको हाम्रो बुझाइ छ । गत निर्वाचनमा पनि यसको प्रभाव देखिएको थियो,’ उनले भने, ‘वीच्याटको सुरक्षा प्रणाली बलियो छ । सत्तामा भएकाहरूको त्यहाँ पहुँच पुग्ने सम्भावना कम छ ।’

वीच्याटमा उनीहरूको आकर्षण बढ्नुको अर्को कारण पछिल्लो समय सार्वजनिक भएका राजनीतिक तथा प्रशासनिक वृत्तका संवादसम्बन्धी घटनाक्रम पनि हो ।

न्यायालयमा सेटिङ गरेको आरोपमा पक्राउ परेका बिचौलिया इनम सापकोटासँग जोडिएको प्रकरणमा न्यायाधीश, राजनीतिक व्यक्ति, प्रशासनिक अधिकारी र व्यवसायीबीच भएका संवाद तथा सम्पर्कका विवरण सार्वजनिक भएपछि गोप्य डिजिटल संवादको संवेदनशीलताबारे नेता र उच्च पदस्थहरु गम्भीर भएका हुन् ।


उक्त घटनाले निजी संवाद र सम्पर्कका विवरणसमेत सार्वजनिक हुन सक्ने जोखिम बढेको भन्दै केही पूर्वउच्चपदस्थ अधिकारी तथा राजनीतिक व्यक्तिहरू थप सतर्क हुन थालेका छन् ।

कति छन् नेपालमा वीच्याट प्रयोगकर्ता ?

नेपालमा वीच्याट प्रयोगकर्ताको वास्तविक आधिकारिक तथ्यांक उपलब्ध छैन ।

नेपाल दूरसञ्चार प्राधिकरण, सामाजिक सञ्जालसम्बन्धी सार्वजनिक तथ्यांक तथा वीच्याटको प्रयोगकर्ता विवरणमा नेपालका सक्रिय प्रयोगकर्ताको संख्या भेटिँदैन ।


प्रेस काउन्सिल नेपालको सन् २०२५ को सञ्चारमाध्यमसम्बन्धी वार्षिक पुस्तकमा उल्लेख भएअनुसार नेपालमा फेसबुकका १ करोड ४३ लाख र इन्स्टाग्रामका ३९ लाख प्रयोगकर्ता पहिचान थिए । तर त्यसमा वीच्याटको तथ्यांक समावेश छैन ।


विश्वव्यापी रूपमा भने वीच्याटको सक्रिय खाताको संख्या सन् २०२६ को मध्यसम्म १ अर्ब ४३ करोड नाघेको छ ।

नेपालमा यसको प्रयोगकर्ताको संख्या यकिन गर्न नसकिए पनि पछिल्लो समय राजनीतिक, प्रशासनिक र व्यावसायिक वृत्तमा देखिएको प्रयोगका आधारमा यसका नेपाली प्रयोगकर्ता हजारौंको संख्यामा रहेको अनुमान छ ।

वीच्याट आफैं कति सुरक्षित ?
वीच्याट प्रयोगकर्ताले यसलाई मेटाका सामाजिक सञ्जालभन्दा सुरक्षित ठाने पनि साइबर सुरक्षा विज्ञहरूले यसको गोपनीयताबारे फरक धारणा राख्दै आएका छन् ।

वीच्याट चिनियाँ प्रविधि कम्पनी टेन्सेन्टले सञ्चालन गर्दै आएको छ ।

क्यानडाको टोरन्टो विश्वविद्यालयअन्तर्गतको सिटिजन ल्याबले गरेको सुरक्षा अध्ययनअनुसार वीच्याटमा प्रयोगकर्ताबीच हुने सन्देश आदानप्रदानमा पूर्णतः एक प्रयोगकर्ताबाट अर्को प्रयोगकर्तासम्म मात्र सीमित रहने ‘इन्ड टु इन्ड इन्क्रिप्सन’ छैन ।

सन्देश कम्पनीका सर्भरबाट गुज्रने भएकाले कम्पनीले ती सन्देश पढ्न सक्ने प्राविधिक अवस्था रहन्छ ।


नेपालका केही राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूले वीच्याटलाई सुरक्षित ठानेर प्रयोग गर्न थाले पनि पूर्ण गोपनीयताप्रति ढुक्क हुने अवस्था भने छैन ।