भीष्मराज आङ्देम्बेको चेतावनी– बालेन सरकारसँग अब ‘वार कि पार’को लडाइँ हुन्छ

भीष्मराज आङ्देम्बेको चेतावनी– बालेन सरकारसँग अब ‘वार कि पार’को लडाइँ हुन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बालेन सरकारसँग अब वार कि पारको लडाइँ हुने चेतावनी दिएका छन् । सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले अब सरकारलाई कुनै साथ, सहयोग र सल्लाह नदिने बताएका छन् ।

सोमबार गृहजिल्ला पाँचथरमा आयोजित पाँचथर बहुमुखी क्याम्पसको साधारणसभामा बोल्दै आङ्देम्बेले न्यायालय, प्रहरी र कर्मचारी प्रशासनमाथि सरकारको हस्तक्षेप बढेको आरोप लगाए ।

प्रधानमन्त्री कार्यालयलाई कर्मचारीका लागि यातना गृह बनाइएको भन्दै उनले राज्यका लोकतान्त्रिक संस्थामाथिको हस्तक्षेप गलत भएको बताए ।

‘यो सरकारलाई यत्तिकासम्म हेर्‍यौँ । तर, न्यायलयमाथि हस्तक्षेप बढायो । प्रधानमन्त्री कार्यालयलाई कर्मचारीका लागि यातना गृह बनाइयो, प्रहरीमाथि हस्तक्षेप बढायो । राज्यका लोकतान्त्रिक संस्थाहरुमाथि हस्तक्षेप भयो । यो गलत छ,’ उनले भने, ‘अब यो सरकारलाई कुनै साथ रहने छैन । कुनै सल्लाह पनि दिइने छैन । मनपरी गर्नेलाई सल्लाह दिनु कुनै अर्थ छैन । अब वार कि पार हुन्छ ।’

आङ्देम्बेले संसद् अधिवेशन तत्काल आह्वान गर्न पनि सरकारसँग माग गरे । यसैगरी, उनले सामुदायिक क्याम्पसहरूलाई आंगिक क्याम्पसमा रूपान्तरण गर्नुपर्ने बताएका छन् । प्रदेश सरकारले पनि उच्च शिक्षाको स्वामित्व लिनुपर्ने उनको भनाइ छ ।

उच्च शिक्षाका लागि पहाडी जिल्लाबाट विद्यार्थी सहरतर्फ जाने क्रम बढ्दा गाउँ रित्तिँदै गएको भन्दै उनले सामुदायिक क्याम्पसमा राज्यको लगानी बढाउनुपर्ने बताए । स्थानीय स्तरमै गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउन सामुदायिक क्याम्पसलाई व्यवस्थित र सुदृढ बनाउने नीति आवश्यक रहेको उनले औँल्याए ।