काठमाण्डु – राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको फ्रान्सको संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।
सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा फ्रान्सेली संसद्को तल्लो सदन प्रतिनिधिसभा अन्तर्गतको फ्रान्स–नेपाल संसदीय समूहकी अध्यक्ष बेआट्रिस पिरोन नेतृत्वको टोलीले शिष्टाचार भेट गरेको हो ।
भेटमा २ देशबिचको कूटनीतिक सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा कुराकानी भएको थियो ।
सो अवसरमा अध्यक्ष दाहालले संसदीय मैत्री समूहको भ्रमणले द्विपक्षीय तथा संसदीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
नेपाल–फ्रान्स संसदीय सम्बन्ध विस्तारका लागि संघीय संसद्को तर्फबाट ८ सदस्यीय नेपाल–फ्रान्स संसदीय मैत्री समूह गठन गरिएको जानकारी गराउँदै अध्यक्ष दाहालले २ देशका संसदहरुको सहकार्य र अनुभव आदानप्रदानले कूटनीतिक सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे ।
गत भदौको विनाशकारी बाढीपछि फ्रान्सेली राष्ट्रपतिको समवेदना सन्देश, फ्रान्सको ऐक्यबद्धता तथा युरोपेली संघमार्फत् उपलब्ध गराइएको मानवीय सहायताप्रति अध्यक्ष दाहालले आभार व्यक्त गरे । उनले बाढीमा बेपत्ता भएका ४ फ्रान्सेली नागरिकका परिवारप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा फ्रान्सेली सरकारले गरेको सहयोगको पनि प्रशंसा गरे ।
सो अवसरमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहकी अध्यक्ष बेआट्रिस पिरोनले आफू पहिलोपटक नेपाल भ्रमणमा आएको उल्लेख गर्दै आफू यहाँको वातावरणले निकै प्रभावित भएको बताइन् ।
आफूहरूले फ्रान्सको संसद्बाट फ्रान्स–नेपाल संसदीय मैत्री समूह पहिले नै गठन गरिसकेको उल्लेख गर्दै अध्यक्ष पिरोनले मैत्री समूहमार्फत् संसदीय अभ्यास आदानप्रदान बढाउनुपर्नेमा जोड दिइन् ।


प्रतिक्रिया