काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनायो।
एक समय ८ रनमै तीन विकेट गुमाएर संकटमा परेको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले सम्हाले। यी दुईले चौथो विकेटका लागि ५६ बलमा ६४ रनको साझेदारी गरे।
दीपेन्द्रले ५१ बलमा ५२ रन बनाए। उनले तीन चौका र एक छक्का प्रहार गरे। ईशानले ३३ बलमा तीन चौकासहित २७ रन जोडे। अन्तिम ओभरमा रनआउट हुनुअघि स्कट कुगेलेइनले पाँच बलमा एक चौकासहित सात रन थपे।
सुदूरपश्चिमका जर्ज मुन्से पहिलो बलमै आउट भएका थिए। थानुका डाब्रेले तीन र विनोद भण्डारीले पनि तीन रन मात्रै बनाउन सके। त्यसपछि आएका ब्याटरले पनि ठूलो योगदान दिन सकेनन्।
लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान दुई विकेट लिए। किशोर महतो र अभिषेक गौतमले एक–एक विकेट हात पारे।
पहिलो क्वालिफायरको विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अर्को अवसर पाउनेछ।


प्रतिक्रिया