काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन मंसिर २६, २७ र २८ गते काठमाण्डुमा हुँदैछ। महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वमहामन्त्री विक्रम पाण्डे र युवा नेता ज्ञानेन्द्र शाहीको नाम चर्चामा छ। शाहीले आफू अध्यक्ष पदमा उम्मेदवारी दिने र आवश्यक परे निर्वाचनमा प्रतिस्पर्धा गर्ने स्पष्ट पारेका छन्।
गत वर्ष भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपालको राजनीतिमा आएको परिवर्तनलाई आत्मसात् गर्दै नयाँ पुस्ताको भावना समेट्न आफूले अध्यक्षमा दाबी गरेको शाही बताउँछन्। पार्टीले नेतृत्व पुस्तान्तरण र पुनर्गठन गर्न नसके आगामी पाँच वर्षमा राप्रपाको अस्तित्व नै संकटमा पर्ने उनको चेतावनी छ। ‘पार्टीभित्रको कुरा मात्र हेरेर हुँदैन, पार्टीभन्दा बाहिर जनताले के चाहन्छन् र कस्तो परिवर्तन खोजेका छन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। जनताको जनमतअनुसार हामी हिँड्न सकेनौँ भने राप्रपा आगामी निर्वाचनमा सकिन्छ,’ उनी भन्छन्।
शाहीले वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनप्रति आफ्नो कुनै व्यक्तिगत असन्तुष्टि नरहेको बताउँदै उनलाई पार्टीको सर्वोच्च नेता बनाउन आफू तयार रहेको बताएका छन्। पुराना नेताहरूलाई सम्मानपूर्वक स्थान दिएर नयाँ सोच, विचार र नेतृत्वका साथ पार्टी अघि बढाउनुपर्ने उनको भनाइ छ। पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा आफू अध्यक्षको उम्मेदवार बनेको भन्ने चर्चालाई पनि उनले अस्वीकार गरेका छन्। राप्रपाको महाधिवेशन, नेतृत्व परिवर्तन र पार्टीको भावी कार्यदिशाबारे काठमाण्डुपाटीका लागि ज्ञानु घिमिरेले शाहीसँग गरेको कुराकानीको सम्पादित अंश :
राप्रपाको महाधिवेशन नजिकिँदै छ। तयारी कस्तो छ ?
महाधिवेशनको तयारी भइरहेको छ। म पनि अध्यक्ष पदमा उम्मेदवारी दिँदैछु। आवश्यक परे निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार छु।
पहिले अध्यक्षको दाबी गर्ने र पछि पद छोड्ने प्रवृत्ति पनि देखिन्छ। तपाईं आफ्नो दाबीमा अडिग हुनुहुन्छ ?
म अध्यक्षकै दाबेदार हुँ। चुनाव लड्नुपर्ने अवस्था आए पनि लड्छु। अध्यक्ष पदमा उम्मेदवारी दिन्छु भन्नेमा स्पष्ट छु।
तपाईंले किन अध्यक्ष पदमा दाबी गर्नुभएको हो ?
पार्टीलाई नयाँ ढंगले अघि बढाउन आवश्यक छ। राजेन्द्र लिङ्देनलाई पार्टी बनाउनका लागि जिम्मेवारी दिइयो, तर उहाँले पार्टीलाई अपेक्षाअनुसार अघि बढाउन सक्नुभएन। राजेन्द्र दाइको व्यक्तिगत रूपमा कुनै नकारात्मक पक्ष छैन। तर पार्टीमा नयाँ जोश, जाँगर र सोचको आवश्यकता छ। मेरो प्रस्ताव उहाँलाई पार्टीको सर्वोच्च नेता मानेर नयाँ नेतृत्वका साथ अघि बढ्ने हो।
अध्यक्ष पदमा दाबी गर्ने विषयमा राजेन्द्र लिङ्देनसँग पनि छलफल गर्नुभएको छ ?
मैले उहाँसँग छलफल गरेको छु। उहाँले पनि आफू अध्यक्षको दाबेदार भएको बताउनुभएको छ। मेरो कुरा चाहिँ उहाँलाई सर्वोच्च नेता मान्ने र नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने हो। राजेन्द्र दाइ उमेरले ६०–६२ वर्ष पुगिसक्नुभएको छ। अरू नेताहरू पनि उमेरका हिसाबले लामो समयदेखि नेतृत्वमा हुनुहुन्छ। म जस्तै कुनै युवा साथी अध्यक्षको उम्मेदवार बन्नुहुन्छ भने उहाँहरूलाई पनि स्वागत छ। तर म आफैँ पनि अध्यक्ष पदमा प्रतिस्पर्धा गर्छु।
राजेन्द्र दाइसँग मेरो व्यक्तिगत समस्या होइन। उहाँलाई पछिल्लो पुस्ताले पार्टीको नेतृत्वका रूपमा अपेक्षा गरेअनुसार पत्याउन सकेन भन्ने कुरा हो। पार्टीलाई नयाँ रूपान्तरण र नयाँ नेतृत्व चाहिएको छ। यही अवस्थामा अघि बढ्ने हो भने पार्टीको अवस्था झन् भयावह हुन्छ। फागुन २१ को निर्वाचनमा जुम्लाबाट मैले मात्रै चुनाव जितेँ। त्यसबेला राप्रपाले जुम्लामा एक सिट जितेको भनेर लेख्नुपर्ने अवस्था आयो। यसले पनि पार्टीको अवस्थाबारे धेरै कुरा देखाउँछ।

तपाईं राप्रपाभन्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र शाहनिकट नेता हो भन्ने चर्चा पनि छ नि ?
यो कसैले फैलाएको हल्ला मात्रै हो। आफ्नै पार्टीका केही साथीहरूले पनि यस्ता अनावश्यक हल्ला गरेको सुनेको छु। तर यस्ता बेतुकका हल्लाको कुनै अर्थ छैन। म राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव जितेर दुईपटक आएको मान्छे हुँ। उहाँहरूले अनावश्यक हल्ला फैलाउने काम बन्द गर्नुपर्छ। म उहाँहरूजस्तो एमालेसँग मिलेर चुनाव जितेर आएको होइन।
म राप्रपा छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा जाने नै भए निर्वाचनअघि नै गइसक्थेँ नि। बालेन्द्र शाहको क्रेज भएको र उहाँ प्रधानमन्त्रीको उम्मेदवार भएको बेला नै जान सक्थेँ। तर मलाई त्यसको कुनै लोभ छैन। म हिन्दू राष्ट्र र राजसंस्था स्थापना गर्नुपर्छ भन्ने एजेन्डा लिएर हिँडेको मान्छे हुँ।
तपाईंलाई पूर्वराजा ज्ञानेन्द्र शाहको मान्छे पनि भन्ने गरिन्छ। उहाँको समर्थनमा अध्यक्षको उम्मेदवारी दिन लाग्नुभएको हो ?
राजसंस्था फर्काउनुपर्छ भनेर हिँडेको मान्छेलाई राजाको मान्छे भन्दा फरक पर्दैन। उहाँप्रति मेरो सम्मान छ। तर राजाले राजनीतिमा आएर फलानालाई सहयोग गर्ने, फलानालाई उम्मेदवार बन्न भन्ने कुरा हुँदैन। उहाँले मलाई सहयोग गर्नुभएको पनि छैन। उहाँ हाम्रो आदरणीय व्यक्तित्व हो। यस्ता विषयमा उहाँलाई नमुछ्दा हुन्छ। हामी राजसंस्था मान्छौँ र त्यसको पक्षमा उभिएका छौँ। त्यसकारण उहाँको मान्छे भन्दा मलाई फरक पर्दैन, तर उहाँले मलाई साथ दिनुभएको वा अध्यक्षमा लड्न भन्नुभएको होइन।
पार्टीलाई नयाँ सोच, नयाँ विचार र युवा नेतृत्वको आवश्यकता भएकाले मैले उम्मेदवारी दिन लागेको हुँ। पुस्तान्तरणको एजेन्डा नबुझेकै कारण हामीले निर्वाचनमा यस्तो अवस्था भोग्नुपरेको हो। देश र पार्टी दुवै पुस्तान्तरणको बाटोमा जानुपर्छ। राजेन्द्र दाइलाई सर्वोच्च नेता मान्न म तयार छु।
ज्ञानेन्द्र शाहीलाई नै राप्रपाको अध्यक्ष किन बनाउने ?
पार्टी बनाउने कि एमाले र कांग्रेससँग मिलेर निर्वाचन लड्ने भन्ने निर्णय गर्ने अधिकार राप्रपाका नेता, कार्यकर्ता र शुभचिन्तकलाई छ। अहिलेसम्म हाम्रो अध्यक्षले पनि आफ्नै बलबुतामा निर्वाचन जित्नुभएको स्थिति छैन। त्यसैले हामी आफ्नै शक्तिमा निर्वाचन लड्न सक्ने पार्टी बनाउन चाहन्छौँ। म त्यसैका लागि अध्यक्षको दाबेदार बनेको हुँ।
त्यसका लागि नयाँ सोच, विचार, कार्यदिशा, नीति र नयाँ साथीहरूको आवश्यकता छ। पुराना नेताहरूलाई सम्मान गर्दै उहाँहरूको सल्लाह लिने, वरिष्ठ नेताको हैसियत दिने र सम्मान गर्ने व्यवस्था म गर्छु। उहाँहरूको अनुभव, निर्देशन र कार्यदिशालाई समेत समेटेर अघि बढ्नुपर्छ।
यहाँ व्यक्तिगत कुरा होइन, पार्टीको नीति र सिद्धान्तको कुरा हो। सिद्धान्तभन्दा बाहिर गएर गठबन्धनमा सामेल हुने कि आफ्नै बलबुतामा आफ्ना एजेन्डा लिएर अघि बढ्ने भन्ने विषय महत्त्वपूर्ण छ। व्यक्तिगत रूपमा राजेन्द्र दाइप्रति मेरो कुनै गुनासो छैन। तर पार्टीलाई निष्ठा र सिद्धान्तअनुसार अघि बढाउनुपर्छ भन्ने मेरो कुरा हो।
तपाईंलाई प्रचारबाजी गर्ने र पार्टीभित्र छुच्चो नेताका रूपमा पनि चित्रण गरिन्छ। यस्तो अवस्थामा अध्यक्षको निर्वाचन जित्न सक्नुहुन्छ ?
मैले पार्टीको शून्य सिट भएको क्षेत्रमा दुईपटक निर्वाचन जितेर आएको छु। जनताले मलाई माया गरेर साथ दिनुभएको छ। लोकप्रिय हुने र जनताको मन जित्ने अधिकार अरू नेताहरूलाई पनि छ। उहाँहरू पनि लोकप्रिय बन्न सक्नुहुन्छ। प्रधानमन्त्रीले प्रचार गर्नुभयो भन्दैमा जनताले उहाँलाई विश्वास गर्न नपाउने भन्ने हुँदैन। जनताले उहाँका विचार र कामलाई विश्वास गरेका छन्। त्यसैगरी मलाई पनि जनताले मेरा विचार, कुरा र भावनालाई विश्वास गरेर साथ दिनुभएको हो।
राजतन्त्र र राजसंस्थाको एजेन्डा कमजोर भइसकेको र राप्रपा नै संकटमा परेको विश्लेषण पनि छ। यस्तो अवस्थामा तपाईं किन यही पार्टीको नेतृत्वमा आउन चाहनुहुन्छ ? निर्वाचन परिणामले पनि त्यही देखाएन र ?
एकपटकको निर्वाचनको पराजयले सबै कुराको विश्लेषण गर्न सकिँदैन। राजतन्त्रको एजेन्डा र राजा फर्काउने अभियान सेलाएको छैन। बरु यो अभियान बढिरहेको मैले देखेको छु। हामी राजतन्त्र फर्काउने, हिन्दू राष्ट्र स्थापना गर्ने र वैदिक सनातन धर्मको प्रचार गर्ने विषयमा एकढिक्का भएर अघि बढ्छौँ। त्यसका लागि पार्टीलाई नयाँ सोच र नयाँ नेतृत्वका साथ अघि बढाउनुपर्छ।
तपाईं, विक्रम पाण्डे र राजेन्द्र लिङ्देनसहित अन्य नेताहरूको नाम पनि अध्यक्षका लागि चर्चामा छ। महाधिवेशनलाई सहमतिमा टुंग्याउने विषयमा छलफल भइरहेको छ ?
मेरो व्यक्तिगत रूपमा सबैप्रति सद्भाव छ। कसैसँग व्यक्तिगत समस्या छैन। तर यही हिसाबले अघि बढ्ने हो भने पार्टी रहन्छ कि रहँदैन भन्ने ठूलो चुनौती छ।
यही नेतृत्व बोकेर गयौँ, यही हिसाबले काम गर्दै गयौँ र नयाँ पुस्ता पार्टी तथा नेतृत्वमा आएन भने अबको पाँच वर्षपछि राप्रपालाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउँछ। म यो कुरा फेरि पनि दोहोर्याउँछु, राप्रपा नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रूपान्तरणको एजेन्डामा गएन भने पाँच वर्षभित्रै पार्टीको अवस्था अहिलेभन्दा कमजोर हुनेछ।
यही अवस्था आउन नदिन मैले यो एजेन्डासहित उम्मेदवारी दिन लागेको हुँ। हाम्रो एजेन्डा स्थापित गर्न र यो देशको राष्ट्रवाद बचाउन मैले अध्यक्ष पदमा उम्मेदवारी दिने आँट गरेको हुँ। अरू युवा साथीहरू पनि आउनुहुन्छ भने उहाँहरूलाई साथ दिन तयार छु। तर म आफैँ पनि अध्यक्ष पदमा प्रतिस्पर्धा गर्छु।
पार्टीभित्रको कुरा मात्र हेरेर हुँदैन। पार्टीभन्दा बाहिर जनताले के चाहन्छन् र कस्तो परिवर्तन खोजेका छन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। जनताको जनमतअनुसार हामी हिँड्न सकेनौँ भने राप्रपा आगामी निर्वाचनमा सकिन्छ।
परिवर्तन भनेको पार्टी परिवर्तन मात्रै होइन। पुस्ता, विषय, व्यक्तित्व र विचारमा पनि परिवर्तन हो। यो कुरा हामीले स्वीकार्नुपर्छ। पुस्ता परिवर्तन गर्न सकेनौँ भने अहिले जुम्लामा पार्टी शून्य भएको जस्तै अवस्था आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा पनि आउन सक्छ। पार्टी नयाँ सोच, नयाँ विचार र नयाँ जोशका साथ रूपान्तरण हुनुपर्छ।

अन्य शीर्ष नेताहरूलाई चाहिँ कसरी व्यवस्थापन गर्नुहुन्छ ?
शीर्ष नेताहरूलाई सम्मानपूर्वक स्थान दिन चाहन्छु। उहाँहरूले विचार स्थापना गरेर अहिलेसम्म जोगाएर राखेकै कारण राप्रपा अस्तित्वमा छ। हाम्रो पार्टीको सबैभन्दा राम्रो पक्ष भनेको यहाँ सबै पुस्ताका मानिसबीच संवाद र सम्बन्ध छ। पाँच–छ पुस्तासम्मका नेता तथा कार्यकर्ता पार्टीमा हुनुहुन्छ। सबैलाई समेटेर अघि बढ्ने काम म गर्छु।
तपाईं अध्यक्षको उम्मेदवार बन्ने विषयमा अन्य नेताहरूसँग छलफल गर्नुभएको छ ?
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँग म दुईपटक बैठकमा बसिसकेको छु। विक्रम पाण्डे, कमल थापालगायत नेताहरूसँग पनि चार–पाँचपटक छलफल गरेको छु। उहाँहरू आफैँ अध्यक्ष बन्ने कुरा गर्नुहुन्छ। उहाँहरू पद छोड्न तयार हुनुहुन्न। तर म नयाँ पुस्ता र नयाँ सोचलाई अंगालेर अघि बढ्न चाहन्छु। उहाँहरूले बिस्तारै मलाई साथ दिनुहुन्छ भन्ने अपेक्षा गरेको छु। नयाँ पुस्तालाई स्वीकारेर अघि बढ्नुको विकल्प उहाँहरूसँग पनि छैन।


प्रतिक्रिया