हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा

हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली – तनहुँको व्यास नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ ।

नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पताल पोखरा र व्यास नगरपालिकाको सहकार्यमा स्थापना गरिएको आँखा उपचार केन्द्रको शुभारम्भ गरिएको छ ।

उपचार केन्द्र सञ्चालनमा आएसँगै व्यास नगरपालिकाका सर्वसाधारणले सामान्य आँखा परीक्षण तथा उपचारका लागि पोखरा वा अन्य स्थानमा पुग्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

केन्द्रको शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरवासीलाई सहज, सुलभ र स्थानीयस्तरमै आँखा उपचार सेवा उपलब्ध गराउने उद्धेश्यले उपचार केन्द्र सञ्चालनमा ल्याइएको बताए । नगरपालिकाभित्रै आँखा उपचार सेवा सुरु भएपछि सामान्य समस्या लिएर पनि पोखरा पुग्नुपर्ने अवस्थाको अन्त्य हुने उनको विश्वास थियो ।

उनले स्वास्थ्य सेवालाई नागरिकको पहुँचसम्म पुर्‍याउनु स्थानीय सरकारको प्राथमिकतामध्येको एक भएको उल्लेख गर्दै उपचार केन्द्रलाई प्रभावकारी र नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

नेपाल नेत्रज्योति संघ कास्कीका अध्यक्ष एवं हिमालय आँखा अस्पतालका अध्यक्ष सुरेन्द्र थापाले हिमालय आँखा अस्पतालले आर्थिक अवस्था कमजोर भएका, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकको आँखा उपचारमा नि:शुल्क सेवा प्रदान गर्दै आएको जानकारी दिए ।

उनले कुनै पनि स्वास्थ्य संस्था वा उपचार केन्द्र शुभारम्भ गर्नु मात्र ठूलो कुरा नभई त्यसलाई निरन्तरता दिनु र सेवाग्राहीले नियमित सेवा पाउने वातावरण बनाउनु महत्वपूर्ण हुने बताए । उपचार केन्द्रलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन सबै पक्षको सहयोग र समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।

हिमालय आँखा अस्पताल व्यवस्थापन समितिका सदस्य प्रा.डा. दिलबहादुर क्षेत्रीले आँखाको स्वास्थ्यप्रति सबै सचेत हुनुपर्ने बताए । उनले आँखाको नियमित परीक्षणमा लापरवाही नगर्न आग्रह गर्दै समयमै परीक्षण र उपचार गर्न सके आँखासम्बन्धी धेरै समस्याबाट बच्न सकिने धारणा राखे ।

व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न समयमा स्वास्थ्य शिविर तथा जनस्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् । नागरिकलाई आधारभूत स्वास्थ्य सेवा आफ्नै नगरभित्र उपलब्ध गराउने प्रयासअन्तर्गत आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको उनको भनाइ थियो ।

उपचार केन्द्रमा आवश्यक कर्मचारी तथा प्राविधिक जनशक्तिको व्यवस्थापन हिमालय आँखा अस्पताल पोखराले गर्ने व्यवस्था मिलाइएको छ । यसले उपचार केन्द्रबाट प्रदान गरिने सेवाको गुणस्तर र निरन्तरतामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

शुभारम्भको दिन सेवाग्राहीका लागि नि:शुल्क आँखा परीक्षणको व्यवस्था गरिएको छ । बुधबारदेखि भने आँखा परीक्षणका लागि प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

स्थानीयस्तरमै आँखा उपचार सेवा उपलब्ध हुन थालेपछि व्यास नगरपालिकाका साथै आसपासका क्षेत्रका नागरिकलाई समेत सहज हुने अपेक्षा गरिएको छ । सामान्य आँखा परीक्षण तथा उपचारका लागि टाढा जानुपर्ने समय र खर्च बचत हुनुका साथै समयमै उपचार सेवा प्राप्त गर्न पनि सहयोग पुग्ने विश्वास गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताए ।