काठमाण्डु– चीनको सिचुवान प्रान्तीय कमिटीका सचिव तथा प्रान्तीय जनकंग्रेसको स्थायी समिति अध्यक्ष वाङ सियाओहुईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका छन्।
मंगलबार चीनको छेन्दुमा भएको भेटमा वाङले सिचुवान प्रान्तीय कमिटी र प्रान्तीय सरकारका तर्फबाट नेपाली प्रतिनिधिमण्डललाई स्वागत गरे।
उनले सिचुवानको आर्थिक तथा सामाजिक विकासबारे जानकारी गराउँदै नेपाल र चीनबीच हजारौँ वर्ष पुरानो मैत्रीपूर्ण सम्बन्ध रहेको बताए।
गत भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा गएको भीषण पहिरोबाट दुवै देशमा मानवीय तथा भौतिक क्षति भएको स्मरण गर्दै वाङले चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री वालेन्द्र शाहलाई समवेदना सन्देश पठाएको उल्लेख गरे।
उनले चीनले आफ्नै उद्धार तथा राहत कार्यसँगै नेपालका पहिरो प्रभावित क्षेत्रमा तत्काल आपत्कालीन सहायता उपलब्ध गराएको बताए।
विपद्का बेला दुवै देशले गरेको सहकार्यले हिमालपारिको परम्परागत मित्रतालाई थप उजागर गरेको उनको भनाइ थियो।
चीन र नेपालबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत उच्च गुणस्तरीय सहकार्य अघि बढिरहेको उल्लेख गर्दै वाङले सिचुवान नेपालसँग निकट सम्बन्ध रहेको चिनियाँ प्रान्तमध्ये एक भएको बताए।
नेपाली प्रतिनिधिमण्डलको सिचुवान भ्रमणलाई दुई देशबीचको स्थानीय तहको राजनीतिक तथा सरकारी सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने उनको भनाइ थियो।
उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, पूर्वाधार, स्वच्छ ऊर्जा, आधुनिक कृषि र सांस्कृतिक पर्यटनलगायत क्षेत्रमा सहकार्य थप विस्तार गर्न सिचुवान इच्छुक रहेको बताए।
भेटमा आचार्यले सिचुवानको आर्थिक तथा सामाजिक विकासबाट आफू प्रभावित भएको बताए। उनले नेपालको राष्ट्रिय विकासमा चीनले लामो समयदेखि पुर्याउँदै आएको सहयोग र विशेषगरी पछिल्लो पहिरोपछि उपलब्ध गराएको आपत्कालीन सहायताका लागि धन्यवाद दिए।
सिचुवान पश्चिमी चीनको महत्वपूर्ण प्रान्त तथा नेपाल–चीनबीचको उच्च गुणस्तरीय सहकार्यको एक प्रमुख साझेदार भएको उल्लेख गर्दै आचार्यले विभिन्न क्षेत्रमा पारस्परिक लाभका आधारमा सहकार्य अघि बढाउन आफूहरू इच्छुक रहेको बताए।
उनले परम्परागत मित्रतालाई निरन्तरता दिँदै साझा विकास हासिल गर्नुपर्नेमा जोड दिए। भेटमा सिचुवान प्रान्तीय नेताहरू तियान छिङयिङ र रेन जिङदोङसहित चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग तथा प्रान्तीय विभागका अधिकारीहरू सहभागी थिए।


प्रतिक्रिया