गुल्मीमा प्रहरीका इन्स्पेक्टर केसी निवासमै मृत फेला

गुल्मीमा प्रहरीका इन्स्पेक्टर केसी निवासमै मृत फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वत कुमार केसी मृत भेटिएका छन् ।

मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय परिसरस्थित सिनियर अधिकृत निवास (क्वार्टर) मा अचेत भेटिएका केसीलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

बिहान साढे ९ बजेसम्म पनि उनी नउठेपछि खोजी गर्न क्वार्टर पुगेका प्रहरी कर्मचारीले उनलाई अचेत अवस्थामा भेटिएका थिए । क्वार्टरको ढोकामा भित्रबाट चुकुल लगाइएको थियो । लामो समयसम्म ढोका नखुलेपछि प्रहरी झ्यालबाट भित्र पसेर उनलाई निकालेको थियो ।

लगत्तै अस्पताल पुर्‍याइएका केसीलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भीमकिरण बोगटीका अनुसार उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

सुर्खेतको छिन्चु स्थायी घर भएका केसी पछिल्लो समय नेपालगञ्जमा बस्दै आएका थिए । उनी २०५५ सालमा प्रहरी सहायक निरीक्षक (असई) बाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए ।

केसीको निधनको कारण खुलिसकेको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारणबारे थाहा हुने प्रहरीले जनाएको छ ।