एजेन्सी– रुसमा सैन्य प्रयोजनका लागि प्रयोग हुने यातायात विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ ।
रुसी रक्षा मन्त्रालयका अनुसार एएन–१२ विमान मंगलबार साइबेरियाको केमेरोभो क्षेत्रमा नियमित उडानका क्रममा दुर्घटनाग्रस्त भएको हो । विमान मानव बस्ती नभएको क्षेत्रमा खसेको थियो ।
प्रारम्भिक अनुमानअनुसार प्राविधिक खराबीका कारण दुर्घटना भएको मन्त्रालयले जनाएको छ । घटनाबारे रुसी उड्डयन अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् ।
स्थानीय गभर्नर इल्या सेरेदियुकका अनुसार यागुनोभो गाउँनजिक विमान खसेपछि लागेको आगो आपत्कालीन उद्धार टोलीले तत्काल नियन्त्रणमा लिएको थियो । घटनास्थललाई प्रहरीले घेराबन्दी गरेको छ भने हेलिकोप्टर र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको बीबीसीले जनाएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक सीसीटीभी फुटेजमा आकाशबाट उज्यालो वस्तु खस्दै गरेको र त्यसपछि ठूलो विस्फोटसहित आकाश उज्यालो भएको देखिन्छ ।
दुर्घटनाग्रस्त विमानमा कुनै सामग्री वा हतियार बोकेको थियो वा थिएन भन्नेबारे भने खुलाइएको छैन । एएन–१२ विमान रुसी सेनाले हतियार तथा सैनिक ओसारपसारका साथै खोज तथा उद्धार कार्यमा समेत प्रयोग गर्दै आएको छ ।


प्रतिक्रिया