काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले तत्काल तातोपानी नाका खुलाउनका लागि चिनियाँ पक्षसँग अनुरोध गरेका छन् ।
नेपाल भ्रमणमा रहेका चीनका ‘प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसियसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज’का अध्यक्ष याङ्ग वानमिङ्गसँग भेटवार्ता गर्दै परराष्ट्रमन्त्री खनालले सिन्धुपाल्चोकस्थित तातोपानी नाका यथाशक्य छिटो खुलाउन अनुरोध गरेका हुन् ।
परराष्ट्रमन्त्री खनालले गत भदौमा गएको बाढीले रसुवागढी नाका बन्द भएको र चीन जोड्ने अन्य उच्च हिमाली नाकाहरू चिसोले पूर्ण रूपमा सञ्चालन हुन नसक्ने विषम अवस्थामा काठमाण्डुबाट सबैभन्दा नजिक रहेको तातोपानी नाका तत्काल सञ्चालनका लागि अध्यक्ष याङ्गसँग आग्रह गरेको मन्त्रालयले जनाएको छ । ।
‘तातोपानी नाका काठमाण्डुबाट सबैभन्दा कम दूरीमा रहेको र यो नाका ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकका रूपमा रहेको छ’, परराष्ट्रमन्त्री खनालले भने ‘यसैले यो नाकालाई हाम्रा दुई मुलुकबीचको ‘कनेक्टिभिटी’का लागि तत्काल खुलाउन जरुरी छ ।’
भेटमा अध्यक्ष याङ्गले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काम गर्ने जानकारी दिए । भेटवार्ताका क्रममा दुई मुलुकबीचको व्यापार, पूर्वाधार, जलवायु परिवर्तन, जनस्तर, शिक्षालगायत विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया