काठमाण्डु- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि वालेन्द्र शाह नेतृत्वको सरकारले निर्मम दमन गरिरहेको बताएका छन्। उनले एमालेमाथिको यो दमनको प्रतिरोधका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
पार्टी राष्ट्रिय भेलाको बुधबार मध्याह्न काठमाण्डुको बबरमहलमा उद्घाटन मन्तव्यका क्रममा अध्यक्ष ओलीले सरकारले एमालेमाथि पुनः हमला गर्न सक्ने भन्दै त्यसको प्रतिरोध गरिने चेतावनी दिए ।
उनले भने, ‘सरकारले एमालेमाथि निर्मम हमला गरेको छ । अब फेरि हमला गर्न सक्छ । त्यसको प्रतिरोध हुनेछ । त्यसको मूल्य महँगो पर्न सक्छ ।’
आफू गत चैत १३ गते राति पक्राउ पर्दा सयौँ कार्यकर्तामाथि निर्मम ढंगले कुटपिट गरिएको उल्लेख गर्दै ओलीले आगामी प्रतिरोधमा ठूलो संख्यामा कार्यकर्ता सडकमा उत्रिनुपर्ने बताए ।
उनले भने, ‘पहिले गिरफ्तार हुँदा संख्यामा केही कमी भयो होला । अबको प्रतिरोध लाखका लाख विरोधमा उत्रिनुपर्छ । सबै तयार हुनुहोस् । यो सरकारले कुन बेला के गर्छ, भर छैन ।’



प्रतिक्रिया