सेन्जेन- चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विमानस्थलमै पुगेर स्वागत गरेका छन्। बुधबार दक्षिण चीनको क्वाङतोङ प्रान्तस्थित सेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलमा सीले ट्रम्पलाई स्वागत गरेका हुन्।
३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) आर्थिक नेताहरूको बैठकमा सहभागी हुन ट्रम्प चीन पुगेका हुन्। नोभेम्बर १८ र १९ मा सेन्जेनमा आयोजना हुने सम्मेलनमा सीले उनको स्वागत गरेका हुन्।
ट्रम्पको स्वागतका लागि विमानस्थलमा रातो कार्पेट बिछ्याइएको थियो। एयरफोर्स वन विमानबाट ओर्लिएका ट्रम्पलाई सीले विमानस्थलको धावनमार्गमै स्वागत गर्नुका साथै अँगालोसमेत हालेका थिए। दुवै नेताले हात मिलाउँदै अभिवादन गरेका तस्बिर सार्वजनिक भएका छन्।
सीले विदेशी राष्ट्रप्रमुखलाई राष्ट्रपति पदमा रहेकै अवस्थामा विमानस्थलमा पुगेर स्वागत गरेको यो पहिलो घटना भएको बताइएको छ। यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले वासिङ्टनमा सीलाई विमानस्थलमै पुगेर स्वागत गरेका थिए। यसपटक सीले पनि त्यही शैलीमा ट्रम्पलाई स्वागत गरेका हुन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विश्लेषणअनुसार यो स्वागत सामान्य कूटनीतिक शिष्टाचारमा मात्र सीमित छैन। ट्रम्पले व्यक्तिगत सम्मान, औपचारिक समारोह र राष्ट्रप्रमुखको हैसियतलाई महत्त्व दिने भएकाले सी आफैँ विमानस्थल पुगेर स्वागत गर्नुले उनलाई विशेष महत्त्व दिएको सन्देश जाने विश्लेषण गरिएको छ।
यसलाई दुई नेताबीचको सम्बन्धमा सद्भाव देखाउने र व्यापार, ताइवान तथा प्रविधिसम्बन्धी विषयमा हुने वार्ताका लागि अनुकूल वातावरण बनाउने प्रयासका रूपमा पनि हेरिएको छ।
ट्रम्पको भ्रमणका क्रममा चीन र अमेरिकाबीच व्यापार, प्रविधि तथा ताइवानलगायतका संवेदनशील विषयमा छलफल हुने अपेक्षा गरिएको छ। यसैबीच, चीनमा ट्रम्प बस्ने भनिएको होटल आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ। स्थानीय बासिन्दा होटल बाहिर भेला हुन थालेपछि प्रहरीले आवागमन नियन्त्रण गरेको बीबीसीले जनाएको छ।









प्रतिक्रिया