चितवन राइनोज एनपीएलको क्वालिफायर-२ मा, काठमाण्डु गोर्खाज बाहिरियो

चितवन राइनोज एनपीएलको क्वालिफायर-२ मा, काठमाण्डु गोर्खाज बाहिरियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चितवन राइनोजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर–२ मा स्थान बनाएको छ ।

बुधबार भएको भएको ‘एलिमिनेटर’ खेलमा काठमाण्डु गोर्खाजलाई ६१ रनले हराउँदै चितवनले क्वालिफायर–२ मा स्थान बनाएको हो ।

चितवनले अब फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । बुधबारको हारपछि काठमाण्डु भने उपाधि दौडबाट बाहिरिएको छ ।

‘एलिमिनेटर’ खेलमा चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाण्डुले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । उसका लागि विलियम बोसिस्टोले ३७, भीम सार्कीले अविजित ३०, सहान अराच्चिगेले २४, रशिद खानले १२ र सन्तोष यादवले १० रन जोडे ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । चितवनका लागि बलिङतर्फ रिजन ढकालले ४, उसामा मिरले ३ तथा कुशल मल्ल र सलाहुद्दीन खानले १–१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनायो ।

उसका लागि ओपनिङ ब्याटर कामिल मिशाराले शतकीय पारी खेले । उनले ५९ बलमा १० छक्का र ५ चौकासहित अविजित १२० रनको पारी खेलेका हुन् ।

यससँगै मिशारा जारी एनपिएलमा शतकीय पारी खेल्ने दोस्रो ब्याटर बनेका छन् । यस्तै बुधबार कप्तान रवि बोपाराले अर्धशतकीय पारी खेलेका छन् ।

उनले ४२ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५३ रनको पारी खेलेका हुन् । देव खनालले १५ बलमा २ चौका र १ छक्कासहित १७ रन जोडेका छन् ।

काठमाण्डुका लागि बलिङतर्फ कप्तान करण केसी र रशिद खानले समान २/२ विकेट लिएका छन् ।