मलेसियामा श्रमिक पठाउँदा हिनामिना प्रकरणमा २ पूर्वमन्त्रीसहित ६ जना पक्राउ

मलेसियामा श्रमिक पठाउँदा हिनामिना प्रकरणमा २ पूर्वमन्त्रीसहित ६ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मलेसियामा कार्यरत नेपाली श्रमिकसँग गैरकानुनी रूपमा रकम संकलन गरी मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तत्कालीन श्रमसचिव विनोद केसी, मन्त्रालयका तत्कालीन सहसचिवद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन उपसचिव निर्मला गुरुङ रहेका छन् ।

सीआईबीका अनुसार पक्राउ पर्नेमा तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवर (६०), रामेश्वर राय यादव (६१), तत्कालीन सचिव विनोद केसी (६४), सहसचिव उमेश ढुङ्गाना (५१), सहसचिव राजीव पोखरेल (५३) र उपसचिव निर्मला गुरुङ (४९) छन् ।

ब्युरोले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र तथा विकास रानाभाट समेतको जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रहरीका अनुसार मलेसिया सरकार र नेपाल सरकारबिच भएको समझदारीपत्र (एमओयू) विपरीत गैरकानुनी रूपमा रकम संकलन गरिएको थियो । संकलित रकममध्ये ८ करोड ३७ लाख ४३९ अमेरिकी डलर ९२ सेन्ट र ३ करोड ७१ लाख ९८ हजार ९८० पाउन्ड ८० पेन्स गरी कुल १६ अर्ब ९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा बराबरको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा उनीहरूको संलग्नता रहेको सीआईबीको आरोप छ ।

प्रहरीका अनुसार सम्झौताको दायरा र कानुनी प्रक्रियाविपरीत अधिकार क्षेत्र नाघेर विदेशी मुद्रा अपचलन गराइएको तथा यसबाट मुलुकको अर्थतन्त्र र विदेशी मुद्रा सञ्चितिमा प्रतिकूल असर पर्ने गरी निर्णय गरिएको आरोप छ ।

संगठित समूहको लाभका लागि श्रमिकमाथि भइरहेको ठगी रोक्न कानुनी उपचार नगरेको र गैरकानुनी रूपमा संकलित रकम मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

सीआईबीले मंसिर २ गते काठमाण्डु जिल्ला अदालतबाट पक्राउ पुर्जीको अनुमति लिएर काठमाण्डु, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको छ ।

उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।