नेपाल र भारतका उड्डयनमन्त्रीबीच हवाई सम्पर्क विस्तारबारे छलफल

नेपाल र भारतका उड्डयनमन्त्रीबीच हवाई सम्पर्क विस्तारबारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल र भारतबीच हवाई सम्पर्क विस्तार तथा उड्डयन क्षेत्रमा सहकार्य थप मजबुत बनाउने विषयमा दुवै देशका नागरिक उड्डयनमन्त्रीबीच बुधबार नयाँ दिल्लीमा छलफल भएको छ ।

नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले बुधबार भारतका नागरिक उड्डयनमन्त्री राममोहन नायडु किन्जारापुसँग उनको मन्त्रालयमा भेटवार्ता गरेका हुन् ।

भारतीय नागरिक उड्डयनमन्त्री किन्जारापुले सामाजिक सञ्जालमार्फत नेपाली समकक्षीसँगको भेटलाई सुखद भन्दै दुई देशबीचको ऐतिहासिक तथा परम्परागत सम्बन्धलाई हवाई सम्पर्कमार्फत थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको बताएका छन् ।

उनले दुई देशबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तारमा हवाई सम्पर्कको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेका छन् ।

भेटमा अयोध्या विमानस्थलबारे नेपाली मन्त्रीले गरेको प्रशंसालाई पनि उनले स्वागत गरेका छन् । अयोध्या विमानस्थलले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पुर्‍याउने उनको भनाइ छ ।

यसैबीच, पर्यटनमन्त्री खडकराज पौडेलले पनि भारतीय नागरिक उड्डयनमन्त्री किन्जारापुसँग भेट गरेको जानकारी दिएका छन् । उनले किन्जारापुलाई युवा, ऊर्जाशील र आत्मीय व्यक्तित्वका रूपमा उल्लेख गर्दै भेटमा उड्डयन क्षेत्र र नेपाल–भारत सहकार्यका सम्भावनाबारे कुराकानी भएको बताएका छन् ।

नेपाल र भारतबीच हवाई सेवा विस्तार, नयाँ गन्तव्यमा उडान तथा पर्यटन प्रवर्द्धनका विषयमा सहकार्यको सम्भावना रहँदै आएको छ ।