काठमाण्डु – काठमाण्डुका विभिन्न क्षेत्रमा बिहीबारदेखि मंसिर १४ गतेसम्म दैनिक साढे पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कामलाई तीव्रता दिन १२ वटा क्षेत्रमा दैनिक साढे ५ घण्टा विद्युत् कटौती गर्न लागेको जनाएको छ।
प्राधिकरण सूचना जारी गर्दै बिहान १० : ३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।
प्राधिकरणकाअनुसार मंसिर ३ गते बलम्बुरथानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।
मंसिर ४ गते धोबीखोला–बत्तीसपुतली फिडरअन्तर्गत लुम्बिनीदेखि शिफल ग्राउन्डसम्मको क्षेत्रमा विद्युत् कटौती हुनेछ।
विद्युत आपूर्ति बन्द हुने क्षेत्रहरूमा बल्खु खोला पुल (नैकाप), लुम्बिनीदेखि शिफल ग्राउण्डसम्म, स्युचाटार पुल, ईडीटीआर ९ र ईडीटीआर ९ए, ईडीटीआर २६ए र ईडीटीआर ४, शिफल ग्राउण्डदेखि कालोपुलसम्म, सतुङ्गलदेखि ढुङ्गे अड्डासम्म, ईडीटीआर ८ए र ईडीटीआर ८, तथा बलम्बुदेखि सगरमाथा स्याटेलाइट स्टेशनसम्मका स्थानहरू रहेका छन्।
प्राधिकरणले मौसम प्रतिकूल भएमा उक्त तालिका रद्द हुन सक्ने जनाएको छ। विद्युत् आपूर्ति अवरुद्ध हुँदा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।




प्रतिक्रिया