कार्यकर्ताले नटेरेपछि दिक्क ओलीको निर्देशन : राष्ट्रिय भेला हाटबजार होइन, अनुशासनमा बस्नुस्

कार्यकर्ताले नटेरेपछि दिक्क ओलीको निर्देशन : राष्ट्रिय भेला हाटबजार होइन, अनुशासनमा बस्नुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय भेलामा सहभागी नेता तथा कार्यकर्तालाई अनुशासनमा रहन निर्देशन दिएका छन्।

भेलास्थल काठमाण्डुको बबरमहलस्थित पार्टी प्यालेसबाट सहभागीहरू मनलाग्दी बाहिरिने र अनधिकृत व्यक्तिसमेत प्रवेश गर्ने गरेको भन्दै उनले स्वयंसेवक र सहभागीलाई अनुशासन पालना गर्न आग्रह गरेका हुन्।

राष्ट्रिय भेलाको दोस्रो दिन बन्दसत्रको अध्यक्षता ग्रहण गर्दै ओलीले एमालेजस्तो अनुशासित पार्टीको कार्यक्रममा पनि अनुशासन कमजोर देखिएको टिप्पणी गरे। ‘एमालेजस्तो अनुशासित पार्टीको भेला अनुशासनमा रहनुपर्‍यो’, उनले भने।

बुधबार उद्घाटन तथा बन्दसत्रका क्रममा सहभागीहरू हलबाट बाहिरिने र अनधिकृत व्यक्तिहरूसमेत प्रवेश गरेको घटनाप्रति असन्तुष्टि जनाउँदै ओलीले बिहीबार स्वयंसेवक र सहभागीलाई कडाइका साथ अनुशासन पालना गर्न निर्देशन दिए।

‘भेलालाई भेला जस्तो बनाउनुपर्छ। हिजो अन्तिममा फाट्टफुट्ट साथीहरू मात्रै थिए। घरका मान्छेहरूले सोधे भने के गर्ने होला ? स्वास्थ्य समस्या भए नजिकै डाक्टरहरू हुनुहुन्छ। उहाँहरूको अनुमतिमा जानुहोला। शौचका लागि नजिकै शौचालयमा जानुहोला। कार्यक्रम सकियो कि सकिएन भन्ने जस्तो भयो’, उनले भने।

सहभागीहरू कार्यक्रम नसकिँदै बाहिरिने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै ओलीले थपे, ‘एमालेको राष्ट्रिय भेला हाटबजार जस्तो होइन।’