विकास निर्माणअघि भौगर्भिक अध्ययन र जोखिम मूल्यांकन अनिवार्य गर्न सभामुखको जोड

विकास निर्माणअघि भौगर्भिक अध्ययन र जोखिम मूल्यांकन अनिवार्य गर्न सभामुखको जोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सभामुख डोलप्रसाद अर्यालले विकास पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन र प्राकृतिक विपद्को जोखिम मूल्यांकनलाई अनिवार्य प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

नेपाल भौगर्भिक समाजद्वारा आयोजित भौगर्भिक सम्मेलनलाई सम्बोधन गर्दै उनले सडक, सुरुङमार्ग, जलविद्युत् आयोजना, विमानस्थल तथा सहरी पूर्वाधार निर्माण गर्दा वैज्ञानिक भौगर्भिक अध्ययन आवश्यक रहेको बताए ।

नेपाल भूकम्प, पहिरो, बाढी, हिमताल विस्फोट र भूक्षयजस्ता प्राकृतिक विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले वैज्ञानिक अनुसन्धान, पूर्वतयारी र जोखिम पहिचानमार्फत सम्भावित क्षति न्यूनीकरण गर्नुपर्नेमा जोड दिए ।

उनले हिमालय क्षेत्रको भूविज्ञानलाई विकास, वातावरण संरक्षण र विपद् व्यवस्थापनसँग जोडेर योजना कार्यान्वयन गर्नुपर्ने धारणा राखे । साथै, प्राकृतिक स्रोतको दिगो उपयोग र स्वच्छ वातावरणको संवैधानिक हक कार्यान्वयनका लागि तथ्यमा आधारित नीति निर्माण आवश्यक रहेको बताए ।

‘हिमालय हाम्रो प्राकृतिक गौरव मात्र होइन, पृथ्वीको विकासक्रम, भौगर्भिक गतिविधि र जलवायु परिवर्तनको अध्ययनका लागि विश्वकै महत्त्वपूर्ण प्राकृतिक प्रयोगशाला पनि हो,’ उनले भने, ‘प्रकृतिलाई बुझेर गरिने विकास मात्र सुरक्षित र दिगो हुन्छ ।’

सम्मेलनमा समाजका अध्यक्ष भाष्कर खतिवडाले हिमालय क्षेत्रको भूगर्भ, जलवायु परिवर्तन, प्राकृतिक स्रोत व्यवस्थापन र पर्वतीय क्षेत्रको दिगो विकासबारे अनुभव आदानप्रदान गरिने जानकारी दिए ।

आगामी शनिबारसम्म सञ्चालन हुने सम्मेलनमा २७ देशका ३५० भन्दा बढी भौगर्भिक अनुसन्धानकर्ता तथा विज्ञ सहभागी छन् ।