सेन्जेन- चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया प्रशान्त क्षेत्रका सबै अर्थतन्त्र तथा पक्षहरूलाई साझा एसिया प्रशान्त समुदाय निर्माणका लागि चार प्रमुख क्षेत्रमा सहकार्य गर्न आह्वान गरेका छन्।
एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सीले अर्थतन्त्र तथा व्यापार, अन्तरसम्बन्ध, नवप्रवर्तन र विकासलाई एसिया प्रशान्त समुदाय निर्माणका चार प्रमुख स्तम्भका रूपमा प्रस्तुत गरेका हुन्।
उनले पहिलो स्तम्भका रूपमा अर्थतन्त्र तथा व्यापारलाई बलियो बनाउनुपर्ने बताए। यसका लागि क्षेत्रीय आर्थिक तथा व्यापार सम्झौताबीच समन्वय बढाउने र एसिया प्रशान्त स्वतन्त्र व्यापार क्षेत्र (एफटीएएपी) सम्बन्धी नीतिगत संवादलाई तीव्र बनाउनुपर्ने उनको भनाइ थियो।
उच्चस्तरीय आर्थिक तथा व्यापारिक व्यवस्थामा सहभागी हुन सदस्य अर्थतन्त्रहरूको क्षमता अभिवृद्धि गर्नुपर्नेमा पनि उनले जोड दिए।
दोस्रो स्तम्भका रूपमा उनले अन्तरसम्बन्धको विकासलाई अघि सारे। भौतिक पूर्वाधार सञ्जाल सुधार गरी भौतिक सम्पर्क विस्तार गर्ने, नीति तथा नियममा सामञ्जस्य कायम गरी संस्थागत सम्बन्ध बलियो बनाउने र सांस्कृतिक आदानप्रदानमार्फत जनस्तरको सम्बन्ध प्रगाढ बनाउने उनले बताए।
तेस्रो स्तम्भ नवप्रवर्तनलाई प्रस्तुत गर्दै सीले डिजिटल पूर्वाधार विकास, तथ्याङ्क व्यवस्थापन तथा क्षेत्रीय सहकार्यलाई सुदृढ गर्नुपर्ने बताए। नवप्रवर्तनका लागि खुला वातावरण निर्माण, कृत्रिम बौद्धिकता (एआई) को व्यापक प्रयोग र उद्योगहरूको प्रविधिमैत्री रूपान्तरणमा जोड दिनुपर्ने उनको धारणा थियो।
चौथो स्तम्भका रूपमा विकासलाई अघि सार्दै उनले ऊर्जा तथा खाद्य सुरक्षामा क्षेत्रीय सहकार्य बढाउनुपर्ने बताए। सीमापार भ्रष्टाचार नियन्त्रणसम्बन्धी सहकार्य विस्तार गर्नुका साथै प्राकृतिक स्रोतसाधनको विवेकपूर्ण उपयोग र संरक्षणमार्फत दिगो आर्थिक वृद्धि हासिल गर्नुपर्ने उनले उल्लेख गरे।
यसअघि स्वागत समारोहमा आयोजित रात्रिभोजमा राष्ट्रपति सीले स्वागत मन्तव्यसहित टोस्ट प्रस्तुत गरेका थिए। त्यस क्रममा उनले चीनको ऐतिहासिक विकास र आधुनिक रूपान्तरण बुझ्न विभिन्न सहरको महत्त्व औँल्याएका थिए।
‘चीनको हजारौँ वर्षको इतिहास हेर्न सियान जानुपर्छ, ५०० वर्षको चीन बुझ्न बेइजिङ, १०० वर्षको चीन बुझ्न सांघाई र ५० वर्षको चीन बुझ्न सेन्जेन आउनुपर्छ’, उनले भने।
सेन्जेन खुलापनलाई आफ्नो पहिचान बनाएको र नवप्रवर्तनलाई आफ्नो जीवन्तताको स्रोत मानेको सहर भएको सीले बताए। सेन्जेनको विकास चीनको सुधार तथा खुलापन नीतिको एउटा सानो प्रतिबिम्ब मात्र नभई एसिया प्रशान्त क्षेत्रीय सहकार्यको समेत उदाहरण भएको उनको भनाइ थियो।
चीनले यस वर्ष एपेकको अध्यक्षता ग्रहण गरेपछि १६ सहरमा ३०० भन्दा बढी बैठक तथा कार्यक्रम आयोजना गरेको पनि सीले जानकारी दिए। ती कार्यक्रमले चीनको अध्यक्षतामा सम्पन्न हुने यस वर्षको एपेक प्रक्रियाबाट महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सहयोग पुर्याएको उनले बताए।
भोलि हुने एपेक नेताहरूको बैठकमा पारस्परिक खुलापन विस्तार गर्ने, नवप्रवर्तनमा आधारित आर्थिक वृद्धि अघि बढाउने र विभिन्न क्षेत्रमा परिणाममुखी सहकार्यका अवसर विस्तार गर्ने विषयमा छलफल हुने सीले जानकारी दिए।
उनले एसिया प्रशान्त क्षेत्रको साझा विकास र सहकार्यलाई अघि बढाउन सबै सदस्य अर्थतन्त्रसँग मिलेर काम गर्ने अपेक्षा व्यक्त गरे।



प्रतिक्रिया