मधेशमा सत्ता समीकरण पेचिलो, सरकारको नेतृत्व कसले गर्ने अझै टुंगिएन

मधेशमा सत्ता समीकरण पेचिलो, सरकारको नेतृत्व कसले गर्ने अझै टुंगिएन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि समयसीमा सकिन एक दिन मात्रै बाँकी रहँदा पनि दलहरूबीच सत्ता नेतृत्वको विषयमा सहमति जुट्न सकेको छैन ।

प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले तीनदेखि चार दलको सहकार्यमा मात्रै नयाँ सरकार गठन हुने देखिएको छ । तर, सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा प्रमुख दलहरूबीच मतैक्यता नहुँदा राजनीतिक अन्योल बढेको छ ।

एमाले र नेकपाले कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका थिए । प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनका लागि शुक्रबारसम्म दाबी पेस गर्न समय दिएका थिए ।

एमाले र नेकपाले जसपा नेपालको नेतृत्वमा सरकार गठन गर्न चाहेका छन् । तर, जसपा नेपालले आगामी निर्वाचनको मुखमा सरकारको नेतृत्व लिन अनिच्छा देखाएको छ । पार्टीका संसदीय दलका नेता सरोजकुमार यादवले सरकार गठनबारे निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिइएको बताए ।

यता नेकपाले भने सरकार गठनका विषयमा छलफल जारी रहे पनि नेतृत्वबारे सहमति भइनसकेको जनाएको छ । जनमत पार्टीले यसअघि नै प्रदेश सरकारमा सहभागी नहुने स्पष्ट पारिसकेको छ ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा जसपा नेपालका २८, एमालेका २४, कांग्रेसका २२, नेकपाका १५ र जनमतका १२ सांसद छन् । अन्य दुई दलका एकरएक सांसद छन् ।

बहुमतका लागि कम्तीमा ५४ सांसद आवश्यक पर्ने भए पनि दलहरूबीच नेतृत्वको विवाद कायमै रहँदा मधेशमा नयाँ सत्ता समीकरण अझै अनिश्चित बनेको छ ।