एसियन हाइवेको पूर्वी सडकखण्डमा २५ किमी कालोपत्रे

एसियन हाइवेको पूर्वी सडकखण्डमा २५ किमी कालोपत्रे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – एसियन हाइवेको काँकडभिट्टा–लौकही सडकको पूर्वी खण्डमा २५ दशमलव ५ किलोमिटर सडक कालोपत्रे भएको छ ।

आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार काँकडभिट्टादेखि सितापुरीसम्मको ४५ किलोमिटरमध्ये सडकको दुवैतर्फ १९ दशमलव ५ किलोमिटर र एकतर्फी ६ किलोमिटर सडकमा कालोपत्रे भएको छ ।

निर्माणधीन ४ लेनको सडकको भौतिक प्रगति ५६ प्रतिशत रहेको उनले बताए ।

निर्माण कम्पनीले १० अर्ब ६ करोड ९४ लाखमा ठेक्का लिएको सडकको हालको म्याद आगामी माघ १८ गतेसम्म रहेको छ । २ तहमा कालोपत्रे गर्नुपर्ने भएकाले पहिलो तहको कालोपत्रे म्यादभित्रै सक्ने लक्ष्य राखिएको उनको दाबी छ ।

उनले भने, ‘शतप्रतिशत काम सम्पन्न हुने सम्भावना कम देखिएको छ । पूर्ण रूपमा काम सम्पन्न गर्न अझै करिब १ वर्ष लाग्ने अनुमान गरिएको छ ।’ आयोजनामा एसियाली विकास बैंकको ८४.९५ प्रतिशत र नेपाल सरकारको १५.१५ प्रतिशत लगानी रहेको छ । पुल निर्माणतर्फ यो प्याकेजमा पर्ने १८ वटा पुलको काम पूरा भइसकेको छ ।

कनकाई माई, विरिङ र नन्दा खोलामा आर्क ब्रिज प्रकृतिको पुल बन्नेछ । जसमध्ये विरिङ खोलामा स्टिल ट्रस जडानको काम सुरु गरिएको छ । २ पिस रहने संरचनाले आगामी करिब २ महिनामा आकार लिने अपेक्षा गरिएको छ ।

बिर्तामोड र चारआलीलगायत सहरी तथा घनाबस्ती भएका क्षेत्रमा विद्युत्का पोल सार्न बाँकी रहँदा काममा केही जटिलता आएको उनले बताए । विगतमा निर्माण व्यवसायीले जनशक्ति, उपकरण र सामग्री परिचालनमा अपेक्षाकृत गति दिन नसक्दा पनि काम प्रभावित भएको आयोजना प्रमुख पन्तले बताए ।

अन्तर्राष्ट्रिय द्वन्द्वका कारण इन्धन र अलकत्राको मूल्यवृद्धि र उपलब्धतामा देखिएको उतारचढावले पनि कामलाई केही असर पारेको उनको भनाइ छ । निर्माण व्यवसायीले साइटमा काम अवरुद्ध भएका विषयमा प्रमाणसहित नियमित रुपमा आयोजनाको पूर्व कार्यालय दमकमा जानकारी गराइरहेको छ । म्याद थपको सन्दर्भमा काम अवरुद्ध भएका कारणहरूको मूल्याङ्कन गर्दै काम पूरा हुने आधार र व्यवसायीको गम्भीरता हेरेर उचित समय थप गर्ने विषयमा निर्णय लिन सकिने उनले बताए ।