काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को भारत भ्रमणबारे सरकारले शुक्रबार औपचारिक जानकारी दिने भएको छ ।
शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले भ्रमणबारे निर्णय लिने भएको छ । त्यसपछि औपचारिक कार्यक्रम सार्वजनिक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बिहीबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक सबै मन्त्रालयका एजेन्डा एकीकृत गर्ने काम नसकिएकाले बस्न नसकेको एक मन्त्रीले पुष्टि गरेका छन् । उनका अनुसार शुक्रबार मन्त्रिपरिषद् बैठक बस्नेबारे प्रधानमन्त्री कार्यालयबाट अनौपचारिक जानकारी आइसकेको छ ।
‘आज नै मन्त्रिपरिषद् बैठक बस्ने भनिएको थियो । तर बस्न सकेन । एजेन्डाहरू एकीकृत गर्ने काम नसकिएकाले बैठक बस्न नसकेको जानकारी छ,’ ती मन्त्रीले काठमाण्डुपाटीसँग भने, ‘भोलि मन्त्रिपरिषद् बैठक बसेर भ्रमणबारे औपचारिक जानकारी दिने र एजेन्डाहरूलाई अन्तिम रूप दिने भन्ने प्रारम्भिक जानकारी आएको छ । सरकारको ग्रुपमा औपचारिक जानकारी नआए पनि अनौपचारिक रूपमा बैठक बस्ने भन्ने छ ।’
टोलीको नाम फेरबदल हुने क्रम जारी
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री वालेन्द्र शाह, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने करिब निश्चित भएको छ । उनीहरूसँगै निजी क्षेत्रका प्रतिनिधि, केही सञ्चारकर्मीसमेत जानेछन् ।
प्रधानमन्त्रीको सचिवालयका कुमार बेन, असीम शाह र दीपा दाहाल पनि भ्रमणमा सहभागी हुने बताइएको छ ।
यस्तै विभिन्न मन्त्रालयका कर्मचारी तथा परराष्ट्र मन्त्रालयका अधिकारी पनि भ्रमण टोलीमा रहनेछन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमण टोली २५ देखि ३० जना हाराहारी हुनेछ। यसअघि ४० जनासम्मको टोली लाने तयारी थियो ।
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको नाम भ्रमण टोलीबाट हटाइएको स्रोतको भनाइ छ । उनीहरू भ्रमणमा सहभागी नहुने भएका छन् ।
‘२५/३० जनाभन्दा ठूलो भ्रमण टोली हुने छैन। सुरुमा ४० जनाको कुरा थियो, तर २ जना मन्त्री र केही साथीहरूको नाम हटेको छ,’ परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने, ‘अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाललगायत प्रधानमन्त्रीसँगै जानुहुन्छ ।’
प्रधानमन्त्रीका मिडिया व्यवस्थापन संयोजक दाहालले पनि मंसिर भ्रमणको समयतालिकामा अहिलेसम्म फेरबदल नभएको बताइन् । उनका अनुसार परराष्ट्र मन्त्रालयले भ्रमणको अन्तिम तयारी गरिरहेको छ ।
‘परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ । हाम्रोतर्फबाट गर्नुपर्ने तयारीलाई पनि अन्तिम रूप दिने काम भइरहेको छ,’ दाहालले भनिन्, ‘शुक्रबार वा आइतबारसम्ममा केही जानकारी आउँछ । प्रधानमन्त्रीज्यू पनि लागिरहनुभएको छ । भ्रमण टोलीबारे अहिले केही भन्न सकिएन ।’
सुरूमा राखिएकाहरूको नाम अहिले हटाइएको छ । ‘सुरुमा हामीलाई पनि जाने हो भनेर सोधिएको थियो, नामसमेत पठाएका थियौँ । तर पछि फिर्ता भयो,’ ती अधिकारीले भने, ‘मन्त्रिपरिषद् बैठकले औपचारिक निर्णय नगरेसम्म नाम फेरबदल भइरहेकै छ । नामहरूमा फेरबदल प्रधानमन्त्री कार्यालयबाटै भएको हो ।’
मन्त्रालयहरूले पठाए एजेन्डा
शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक तालिका र एजेन्डालाई अन्तिम रूप दिने बताइएको छ । त्यसपछि भ्रमणका क्रममा उठाइने विषयहरू सार्वजनिक हुनेछन् ।
परराष्ट्र मन्त्रालयले अन्य मन्त्रालयसँग समन्वय गरेर भ्रमणका एजेन्डाबारे छलफल गरेको थियो । सम्बन्धित मन्त्रालयहरूले पनि आ–आफ्नो क्षेत्रसँग जोडिएका विषयमा छलफल गरी एजेन्डा परराष्ट्र मन्त्रालयमा पठाइसकेको एक मन्त्रीले जानकारी दिए ।
‘सम्बन्धित मन्त्रालयहरूले बैठक बसेर आजै एजेन्डाहरू परराष्ट्र मन्त्रालयमा पठाइसकेका छन् । प्रधानमन्त्री कार्यालयले ती एजेन्डालाई अन्तिम रूप दिएको छ,’ ती मन्त्रीले भने, ‘मलाई लाग्छ, प्रधानमन्त्रीज्यूबाट पनि एजेन्डाहरू अन्तिम भएपछि परराष्ट्र मन्त्रालयले सूची तयार पार्दैछ । हामीले आआफ्नो मन्त्रालयबाट पठाउनुपर्ने विषय पठाइसकेका छौँ ।’
परराष्ट्रमन्त्री खनालले पनि भ्रमणको अन्तिम तयारी भइरहेको बताए । उनका अनुसार भ्रमण टोलीका सदस्य र एजेन्डालाई अन्तिम रूप दिने काम भइरहेको छ ।
‘भ्रमणबारे अन्तिम तयारी भइरहेको छ । भ्रमण टोलीका सदस्य र एजेन्डाहरूलाई अन्तिम रूप दिने क्रम जारी छ,’ खनालले काठमाण्डुपाटीलाई भने, ‘शुक्रबारसम्ममा धेरै कुरा स्पष्ट भइसक्छ । हामी तयारीमै छौँ । मन्त्रालयहरूले पनि आ–आफ्नो ढंगले तयारी गरिरहेका छन् । आवश्यक समन्वयको काम पनि भइरहेको छ ।’



प्रतिक्रिया