काठमाण्डु- सरकारले नेपाली सेनाका उपरथी अनुपजंग थापालाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा जानुअघि बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाको भावी नेतृत्वसँग जोडिएको बढुवा निर्णय गरेको हो। यो निर्णयसँगै थापाका लागि भावी प्रधानसेनापति बन्ने बाटो खुलेको छ।
हालका प्रधानसेनापति अशोकराज सिग्देलको तीनवर्षे कार्यकाल २०८४ भदौ २४ गते सकिँदैछ। उनी अवकाशमा गएपछि थापा प्रधानसेनापति बन्ने सम्भावित वरीयताक्रममा अगाडि रहनेछन्।
कुनै अप्रत्याशित परिवर्तन नभए उनी २०८४ भदौ २५ गतेदेखि प्रधानसेनापतिको जिम्मेवारीमा पुग्न सक्नेछन्।
नेपाली सेनामा सामान्यतया वरिष्ठता र वरीयताका आधारमा प्रधानसेनापति नियुक्त गर्ने अभ्यास छ। संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रधानसेनापति नियुक्त गर्ने व्यवस्था छ।
यसरी अघि बढ्यो थापाको बढुवा प्रक्रिया
थापाको नाम गत कात्तिक ११ गते रथी पदमा बढुवाका लागि सिफारिस भएको थियो। रथी प्रदीपजंग केसीको अध्यक्षतामा बसेको बढुवा बोर्ड बैठकले उनको नाम सिफारिस गरेको थियो।
बढुवा सिफारिसप्रति चित्त नबुझे उजुरी गर्न सात दिनको समय दिँदै बोर्डले सूचना जारी गरेको थियो। उक्त प्रक्रिया पूरा भएपछि मन्त्रिपरिषद्ले बढुवाको निर्णय गरेको हो।
थापा नेपाली सेनाको २८ बेसिकका अधिकृत हुन्। उनी यसअघि सहायकरथीबाट उपरथीमा बढुवा भएका थिए। उपरथीमा बढुवा भएपछि उनलाई राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा सहसंयोजकको जिम्मेवारी दिइएको थियो।
प्रधानसेनापतिको दौडमा थिए थापा
थापा उपरथीमा बढुवा हुँदादेखि नै भावी प्रधानसेनापतिको सम्भावित उम्मेदवारका रूपमा हेरिएका थिए। उनीसँगैको वरीयताक्रममा रहेका केही अधिकृतले आवश्यक तालिम तथा अन्य प्रक्रियाका कारण बढुवामा प्रतिस्पर्धा गर्न नसक्दा उनको बाटो सहज भएको थियो।
उपरथीमा बढुवाका क्रममा मधुकर कार्की पनि प्रतिस्पर्धामा थिए। तर नेशनल डिफेन्स कोर्स (एनडीसी) पूरा नगरेका कारण उनको बढुवा प्रक्रिया प्रभावित भएको थियो। नेपाली सेनामा उपरथीमा बढुवाका लागि उक्त कोर्सलाई आवश्यक योग्यताका रूपमा लिइन्छ।
थापा अमेरिकी सैनिक संस्थाहरूमा विभिन्न तालिम लिएका अधिकृत हुन्। उनले अमेरिकामा तालिम लिनुका साथै संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा पी–४ तहमा रहेर पनि काम गरेका छन्।
उनी प्रधानसेनापतिको उपसैनिक सहायक, २८ बाहिनीका बाहिनीपति तथा खरिपाटीस्थित सैनिक तालिम केन्द्रमा समेत कार्यरत रहेका थिए।
प्रधानसेनापति नियुक्ति प्रक्रिया
नेपाली सेनामा प्रधानसेनापति बन्न रथी दर्जासम्म पुग्नुपर्छ। नेपालको संविधानको धारा २६७ को उपधारा ५ अनुसार राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा प्रधानसेनापति नियुक्त गर्ने व्यवस्था छ।
सैनिक ऐन, २०६३ अनुसार प्रधानसेनापतिको पदावधि तीन वर्षको हुन्छ। उमेर हद ६१ वर्ष तोकिएको छ। तीन वर्षे कार्यकाल पूरा हुनुअघि नै ६१ वर्ष उमेर पुगेमा अनिवार्य अवकाश पाउने व्यवस्था छ।
बहालवाला प्रधानसेनापतिको कार्यकाल सकिनुअघि वरिष्ठ रथीलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने अभ्याससमेत नेपाली सेनामा रहँदै आएको छ।



प्रतिक्रिया