गगनले मागे चुनावको समय र स्वरूपबारे सरकारको धारणा

गगनले मागे चुनावको समय र स्वरूपबारे सरकारको धारणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काँग्रेस सभापति गगनकुमार थापाले स्थानीय तह र प्रदेशसभा निर्वाचन एकै चरणमा गर्ने वा छुट्टाछुट्टै समयमा गर्ने भन्ने विषयमा सरकारले आफ्नो प्रस्ताव सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

निर्वाचन आयोगले शुक्रबार राजनीतिक दलका शीर्ष नेताहरूसँग गरेको परामर्शमा थापाले निर्वाचनको स्वरूपबारे सरकार नै पहिले स्पष्ट हुनुपर्ने बताए ।

निर्वाचन खर्च कम गर्न स्थानीय तह र प्रदेशसभाको चुनाव एकैपटक गर्नुपर्ने बहस चलिरहेका बेला उनले सञ्चारमाध्यममा आएका चर्चाका आधारमा दलहरूले आफ्नो धारणा बनाउन नसक्ने उनको भनाइ थियो ।
सरकारबाट औपचारिक प्रस्ताव आएपछि मात्रै त्यसबारे पार्टीगत धारणा तय गर्न सकिने उनको भनाइ थियो ।

‘‘एकैपटक निर्वाचन गर्ने भन्ने कुरा बाहिर आइरहेको छ । यस्तो हो भने सबैभन्दा पहिला नेपाल सरकारले भन्नुपर्छ । खर्चलगायत कारणले एकैपटक गर्ने भनेर सरकारले भन्ला,’ थापाले भने ।

उनले निर्वाचनको समय संविधान र कानुनले निर्धारण गर्ने भए पनि एकैपटक निर्वाचन गर्ने विषयमा सरकारको धारणा आवश्यक रहेको बताए । आयोगले प्रारम्भिक छलफल थालेकाले अब पार्टीभित्र पनि यसबारे विमर्श हुने उनले उल्लेख गरे ।

सरकारले कुनै प्रस्ताव अघि सारेमा कांग्रेसले आफ्नो धारणा राख्ने र अन्यथा संविधान तथा कानुनअनुसार निर्वाचनको मिति निर्धारण हुनुपर्ने थापाको भनाइ थियो ।

‘स्थानीय र प्रदेश चुनाव कहिले भन्ने संविधानअनुसार हुने कुरा छँदैछ। यसमा निर्वाचन आयोगले केही भन्ने कुरा भएन । सरकार केही पनि बोल्दैन, केही पनि भन्दैन । पत्रपत्रिकामा आएको भरमा हामी दलको धारणा बनाउँदै किन हिँड्ने ?’ उनले प्रश्न गरे ।

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयमा आवश्यक कानुनी व्यवस्था गर्नुपर्नेमा पनि थापाले जोड दिएका छन् । विदेशबाट मतदान गराउने व्यवस्था कार्यान्वयन गर्नुअघि त्यसका लागि कानुन निर्माण गर्नुपर्ने उनको धारणा थियो ।