काठमाण्डु– निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मङ्सिरमा प्रदेशसभा निर्वाचन गर्ने प्रस्ताव गरेको छ ।
शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग भएको छलफलमा आयोगले निर्वाचनको यस्तो प्रस्ताव गरेको हो ।
छलफलमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आयोगका तर्फबाट उक्त प्रस्ताव आएको जानकारी दिए । उनले उक्त प्रस्ताव उपयुक्त भएको समेत बताए ।
प्रस्तावबारे पार्टीभित्र थप छलफल र अध्ययन गरेपछि मात्रै अन्तिम धारणा बनाउने उनले बताए।
आयोगमा भएको छलफलमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापासहितका नेता सहभागी थिए ।
एमाले अध्यक्ष केपी ओली भने आफ्नो तहका नेताहरु नभएको भन्दै छलफल सुरु हुनुअघि नै आयोगबाट बाहिरिएका थिए । एमालेबाट निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाल छलफलमा सहभागी भए ।
यसअघि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो भने सोही वर्ष मङ्सिर ४ गते प्रदेशसभा निर्वाचन सम्पन्न भएको थियो ।



प्रतिक्रिया