काठमाण्डु- फ्रान्सको एक टेलिभिजन कार्यक्रमले त्यहाँ रहेका सम्पूर्ण चिनियाँ समुदायलाई ‘जासुस’ भनेपछि पेरिसस्थित चिनियाँ दूतावासले आपत्ति जनाएको छ।
फ्रान्सेली प्रसारक फ्रान्सइन्फोको साँझ प्रसारण हुने कार्यक्रम ‘ले इन्फोर्मे’ मा भिन्सेन्ट क्रुजे र अन्य अतिथिहरूले फ्रान्समा रहेका सम्पूर्ण चिनियाँ समुदाय चिनियाँ जासुस रहेको दाबी गरेका थिए।
उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै चिनियाँ दूतावासले त्यसलाई आधारहीन आरोप र दुर्भावनापूर्ण लाञ्छना भनेको छ।
दूतावासले शुक्रबार जारी गरेको वक्तव्यमा यस्तो अभिव्यक्ति शीतयुद्धकालीन सोच र वैचारिक पूर्वाग्रहबाट प्रेरित रहेको उल्लेख गरेको छ। यसले फ्रान्समा रहेका चिनियाँ समुदायको भावनामा गहिरो चोट पुर्याएको पनि दूतावासको भनाइ छ।
फ्रान्समा रहेका चिनियाँ समुदायका सदस्यहरूले लामो समयदेखि त्यहाँका कानुन र नियमको पालना गर्दै आएको, स्थानीय समाजमा घुलमिल भएको र अर्थतन्त्रमा योगदान पुर्याएको दूतावासले जनाएको छ।
उनीहरूले चीन–फ्रान्स सम्बन्ध विस्तार तथा दुई देशका नागरिकबीच आपसी समझदारी अभिवृद्धिमा समेत महत्त्वपूर्ण भूमिका खेलेको वक्तव्यमा उल्लेख छ।
दूतावासले फ्रान्सेली सञ्चारमाध्यम र सम्बन्धित व्यक्तिहरूलाई चिनियाँ समुदायको सम्मान र प्रतिष्ठाको ख्याल गर्न आग्रह गरेको छ।
यसका साथै, आधारहीन ‘चिनियाँ जासुस’ सम्बन्धी आरोप फैलाउन बन्द गरी त्यसबाट पुगेको क्षति सच्याउन तत्काल ठोस कदम चाल्न पनि माग गरेको छ।



प्रतिक्रिया